आज आयोजक मकवानपुर र मनाङ मस्र्याङ्दी क्लबको भिडन्त

संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार ०६:५९

हेटौंडा– हेटौंडामा जारी स्थानीय सहिद स्मृति मकवानपुर गोल्डकपअन्तर्गत् आज शुक्रबार दिउसो आयोजक मकवानपुर–११ र ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङदी आमनेसामने हुँदैछन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका अधिकांश खेलाडी मैदान उतार्ने तयारी गरेको मनाङसँग जित निकाल्न आयोजक मकवानपुरलाई ‘फलामको चिउरा चमाए जस्तै’ हुने देखिएको छ । मकवानपुरले यसअघि उद्घाटन खेलमा मोफसलकै नव जनजागृति क्लब सिमरालाई हराएर क्वाटरफाइनल पुगेको थियो ।

गोल्डकपको विगतका संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दा ताकाका उत्कृष्ट खेलाडी हाल मकवानपुरमा छैनन् । मकवानपुरले ए डिभिजन लिग खेलिसकेका गोलरक्षक अशोक बरालसहित ३ जना अफ्रिकन खेलाडीलाई उद्घाटन खेलमा उतारेको थियो ।

मनाङसँगको खेलमा भने ए डिभिजन लिग खेलेका थप २ खेलाडी मैदानमा उत्रिन लागेको प्रशिक्षक विजयलाल श्रेष्ठले बताएका छन् । मकवानपुरमा अधिकांश खेलाडी मोफसलमै जमेका र बी तथा सी डिभिजन खेलेका खेलाडी छन् ।

मनाङले १९ फागुनदेखि काठमाडौंमा सुरु हुने ए डिभिजन लिगको नयाँ सिजनका लागि अनुबन्ध गरेका दुई नयाँ विदेशी खेलाडीलाई पनि मकवानपुरविरुद्ध उतार्ने सम्भावना छ ।

ए डिभिजन किर्तिमानी ८ पल्टको च्याम्पियन मनाङले नयाँ सिजनको लागि सन् २०१४–०१५ मा बार्सिलोनाको सिनियर टोलीबाट खेलेका सेनेगलका डिफेन्डर दिवान्दु डियाग्ने नियाङ र उज्वेकिस्तानका विंगर सेडजामोललाई अनुबन्ध गरेको छ ।

नयाँ खेलाडी अनुबन्धन भएसँगै सेट मिलाउनका लागि पनि मनाङले दिवान्दु डियाग्ने र विंगर सेडजामोललाई मकवानपुरविरुद्ध खेलाउन सक्ने सम्भावना रहेको छ । स्वदेशकै नयाँ खेलाडी र भर्खरै अनुबन्धित खेलाडीहरुलाई छिटो पुरानो टिमसँग हेलमेल गराउनुपर्ने दबाबमा पनि मनाङ छ ।

मनाङले ए डिभिजन लिगका लागि पोखरामा प्रशिक्षण गरिरहेको थियो भने बिहीवार नै मकवानपुर गोल्डकप खेल्न हेटौँडा आएको थियो । मनाङका खेलाडीले बिहीवार त्रिभुवन आर्मी र एपीएफ क्लबबीचको प्रतिस्पर्धासमेत हेरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*