उपाधि दाबेदार आर्मी क्वाटरफाइनलबाट बाहिरियो

संवाददाता
फाल्गुन ४, २०७९

हेटौँडा– हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्वाटरफाइनलबाट बाहिरिएको छ ।

विभागीय टोली एपीएफ क्लबसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले आर्मी लगातार तेस्रो पटक मकवानपुर गोल्डकप जित्ने अबसरबाट बञ्चित बनेको हो । आर्मीले मकवानपुर गोल्डकपको गत दुई संस्करण लगातार जितेको थियो । अनुभवी खेलाडी नै पेनाल्टी सुटआउटमा चुक्दा आर्मीले हार व्यहोरेको छ । हेटौँडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको थियो ।

आर्मीबाट सुरुवाती प्रहार कप्तान नवयुग श्रेष्ठले गरे । उनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले रोके । नवयुगपछि पेनाल्टी हान्न पुगेका दिपक गुरुङको प्रहारलाई पनि नगरकोटीले उत्कृष्ट बचाउ गरे ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्रै गोल गरे । पेनाल्टी सुटआउटमा चुकेका नवयुग र दिपक दुवै राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडी हुन् ।

पेनाल्टी सुटआउनको सुरुवातमै अनुभवी खेलाडी पठाएर शतप्रतिशत गोल निकाल्दै एपीएफलाई दबाब दिने आर्मीका प्रशिक्षक नवीन केसीको रणनीति फेल खाँदा एपीएफले उपाधि रक्षाको सम्भावना कायमै राखेको छ ।

एपीएफका लागि नवीन लामा, सुदीप शिकारकार, सनिश श्रेष्ठ र दिपेक हमालले गोल गरे । एपीएफले भोली शुक्रबार हुने आयोजक मकवानपुर–११ र ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दीबीचको विजेतासँग फाइनल प्रवेशका लागि भिड्ने छ ।

खेलमा म्यान अफ दी म्याच एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । नगद १० हजार पुरस्कार नगरकोटीले पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गरेका थिए ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । शिलापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*