मकवानपुरका खेतबारीमा देखिन छोडे हलो र गोरु

संवाददाता
२०७९ फाल्गुन ३, बुधबार १०:४२

हेटौंडा– बढ्दो कृषि यान्त्रिकरणको प्रयोगले परम्परागत जुवा हलो नारेको गोरु खेतबारीमा देखिन छोडेका छन् । मकवानपुरमा आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै हलो र गोरु लोप हुन थालेका हुन् ।

जिल्लाका किसानहरुले खेतबारी जोत्न छिटा छरितोे, सजिलो र भरपर्दो यन्त्र हाते ट्याक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु लोप हुन थालेको हो । हेटौंडा उपमहानगरपालिकासहित सबै स्थानीय तहमा खेत, बारी जोत्नका लागि ट्याक्टरको प्रयोग गर्न थालिएको छ ।

जिल्लाका भौगोलिक रुपले विकट क्षेत्रमा रहेका बारीहरु भने बाँझो रहने क्रम बढेको छ । बेंसीमा भने कृषि यान्त्रिकरण प्रयोग बढी भइरहेका छन् ।

गोरुले जोत्नुलाई कतिपयले आफ्नो आम्दानीको स्रोतसमेत बनाउँदै आएका थिए । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले किसानका लागि अनुदानमा ठुला र हाते ट्याक्टरहरु अनुदानमा दिन थालेपछि हलो र गोरु विस्थापित हुन थालेका छन् ।

वर्तमान अवस्थामा एक हल गोरुको दैनिकी ज्याला भन्दा ट्याक्टरको खर्च कम पर्न जाने किसानहरु बताउँछन् । करिब ३ हजार रुपैयाँ गोरु लगाउँदा हुने खर्च गरेको अवस्थामा ट्याक्टर लगाउँदा २ हजार खर्च हुने गरेको मकवानपुरगढीका किसान सुरेन्द्र हुमागाई बताउँछन् ।

ट्याक्टरबाट खेतबारी जोत्दा समयको पनि बचत हुने भएकाले किसानहरुले पनि गोरु लगाउन छाडेका छन् । स्थानीय तहको अघिल्लो कार्यकालमा बढी कृषि यान्त्रिकरणको प्रयोग गर्ने पालिकाहरु हेटौंडा उपमहानगरपालिका, थाहा नगर र मकवानपुरगढी थिए ।

यी दुई पालिकाले कृषि यान्त्रिकरण र किसानहरुलाई उत्प्रेरणा जगाउने कार्यक्रममा करोडौं खर्च गरेका थिए । मनहरी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिकाले पनि कृषि यान्त्रिकरणमा ध्यान दिएका थिए ।

परम्परागत कृषि कर्ममा सर्वाधिक प्रयोग हुने हलो र गोरुलाई हिजोआज हाते ट्याक्टरले विस्थापित गरिदिएको कृषि प्राविधिकहरु बताउँछन् ।

कृषि यान्त्रिरणको प्रयोगले कृषिमा लागत कम लाग्ने र उत्पादन बढी हुने हुँदा किसानहरु त्यसतर्फ आर्कषित हँुदै गएको मकवानपुरगढीका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

‘पहिले खेतबारी जोत्नका लागि हलो र गोरुको प्रयोग सर्वाधिक हुन्थ्यो । अहिले कम खर्चमा विनाझन्झटको छिटो काम हुने हाते ट्याक्टरको प्रयोग व्यापक हुन थालेको छ । यसले किसानलाई निकै फाइदा भएको छ,’ उनले भने ।

खेतबारी जोत्न, दाइँ गर्न र विभिन्न कृषिको कामको लागि गोरु आवश्यक पर्ने भएपनि अहिले ट्रयाक्टर, हाते ट्याक्टरले विस्थापित गरिदिएको हो ।

आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाउन थालेको कृषि विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।

कम जनशक्तिले थोरै समयमा काम सकिने र आवश्यकता अनुसार जस्तो ठाउँमा पनि प्रयोग गर्न सकिने हुँदा हातेट्याक्टरप्रति किसानहरु आकर्षित भएका छन् । किसानले हाते ट्याक्टरको प्रयोगले कृषि कर्म सहज बनेको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*