२८ वर्ष पुरानो योजना पूरा गर्दै मेयर लामा, अब एकीकृत अटो भिलेज
हेटौंडा– हेटौंडामा छरिएर रहेका अटो वर्कशपहरु अब एकतृत हुने भएका छन् । हेटौंडा–११ स्थित राप्ती नदी उकासको करिब ३१ बिगाहा जमिनमा एकीकृत अटोभिलेज सञ्चालनमा ल्याउने तयारी भएको हो ।
बजारको सौन्दर्यमा सुधार गर्नका लागि सवारी मर्मतका सबै वर्कसपरु एकत्रित एकै ठाउँमा राख्न लागिएको हो । अटो भिलेजको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आइतबार शिलान्यास गरेकी छन् ।
बागमती सरकारका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको समयमा निर्माण गरिएको डिपीआरको आधारमा अटो भिलेज निर्माणको काम सुरु भएको हो ।
अटो भिलेज सञ्चालनको लागि बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष ५ करोड रुपैयाँ खर्च गरी तटबन्ध नदी उकास गरेको थियो । सो जमिन सम्याउनको लागि हेटौंडा उपहानगरपालिकाले पहिलो चरणमा १४ लाख ६ हजार रुपियाँ बिनियोजन गरेर काम सुरु गरेको छ ।
अटो भिजेजको शिलान्यास गर्दै उपमहानगरका प्रमुख मिनाकुमारी लामाले एकीकृत अटोभिलेज सञ्चालनका लागि उपमहानगरले सबै किसिमका सहयोग गर्ने प्रतिवद्धता जनाइन् । एकीकृत अटोभिलेजका लागि तयार गरिएको जग्गा अटो ग्यारेज सञ्चालकलाई भाडामा उपलब्ध गराइनेछ । हाल उपलब्ध जमिनमा करिब २५० वटा अटो ग्यारेजहरु अट्ने अनुमान गरिएको छ ।
व्यवसायीले आफूलाई चाहेको डिजाइनको अस्थायी स्वरुपको टहरा निर्माण गरेर काम गर्न सकिने नगर प्रमुख लामाले बताइन् । अटो भिजेजमा चार्ज स्टेशन, थ्रि–वाइलर, फोर– वाइलर सवारी मर्मत केन्द्र, खेलमैदान, स्वास्थ्य चौकी, हेबी सवारी मर्मत, हेव इक्वमेन्ट मर्मत, पार्किङ र डम्पिङ साईड रहने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले बताए ।