मकवानपुरगढीका ७ वटा वडा शिवमको अव्यवस्थित चुनढुंगा उत्खननले प्रभावित
हेटौंडा– हेटौंडा उपमहानगरपालिकामा रहेको शिवम् सिमेन्ट उद्योगको अव्यवस्थित चुनढुंगा उत्खनन् कार्यले मकवानपुरगढी गाउँपालिकाको ७ वटा वडा निरन्तर प्रभावित बनेका छन् ।
शिवमले मकवानपुरगढीको ८ र ७ नम्बर वडामा चार वटा खानी क्षेत्रबाट अव्यवस्थित रुपमा चुनढुंगा उत्खनन् गरेपछि आगामी वर्षामा क्षति हुने आंकलनले स्थानीयहरु चिन्तित बनेका छन् ।
शिवमले विगत १५ वर्षदेखि सरोकारवाला निकायहरुबीच भएका सहमतिविपरित अव्यवस्थित रुपमा चुनढुंगा उत्खनन् गरिरहेको भन्दै ८ नम्बर वडाको बुढीचौर र ७ नम्बर वडाको सुकौराबासी आन्दोलित बनेका छन् ।
शिवमको लापरबाहीले निकट भविष्यमै क्षति हुन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका हुन् । चुनढुंगा उत्खनन् गर्दा निस्किएका ओभरवटन आफैंले व्यवस्थापन गर्नुपर्ने सम्झौता उल्लेख भएपनि शिवम्ले पालना नगरेको पाइएको हो ।
शिवमले विगतका सम्झौतालाई लत्याउँदै प्राकृतिक स्रोतको क्षतविक्षत गरेर स्थानीयबासीलाई असर पुग्ने गरी ओभरवटनज जथाभावी फालेको छ । उद्योगको राष्ट्रिय वनक्षेत्रमा जरुवा, खोटार, कलवन र चपकी गरी चार वटामा चुनढुंगा खानी सञ्चालनमा रहेका छन् ।
त्यहाँबाट निस्किएका ओभरवटन अधिकांश सामरी खोलाको सहायक खोल्चाहरुमा खसालिएको छ भने केही फाष्टट्रयाक निर्माणमा समस्या हुने गरी बकैया गाउँपालिकाको सिमात खोलाको सहायक खोल्चामा फालिएको छ ।
शिवम्ले मनमौजी हिसाबले ओभरवटन फाल्दा पाखाका बोटविरुवा मासिएका छन् भने जडिबुट्टीहरु लोप हुँदै गएका छन् । त्यस्तै ओभरवटनले खोल्चाखाल्ची पुरिँदा करिब सय÷दुई सय फिट अग्ला झरनाहरु लोप भएको र पानीको स्रोत पनि सुक्दै गएको स्थानीय सानुकान्छा तामाङले गुनासो गरे ।
बर्षायासमा अव्यवस्थित ओभरवटन बगेर आउँदा खोलाको सतह बढेर खेतियोग्य जग्गा र बस्तीकटानसँगै सिचाँईमा समस्या भएको र शुद्ध खानेपानी समेत पाईन छाडेको स्थानीय राजेश नेपालले बताए । खानेपानी विस्तारको पाइप लाइन क्षति हुनुका साथै तटीय क्षेत्रका गाउँबस्तीका घर, विद्यालय, पाटीपौवा, मठमन्दिर, स्वास्थ्य चौकी, पानीघट्टाहरु बाढी र पहिरोको जोखिममा रहेको नेपालले गुनासो गरेका छन् ।
मकवानपुरगढी–७ को पाङटोल, गीताधर्म, आम्बोडे, भण्डारे, किटीनी, न्यौपानेटार, भुडेदमार, सातकन्या, कोलदमार, मच्छेडाँडा, वतासेडाँडा, हुलाक दमार, नरसिंडाँडा, जिमर गेबडाडा, थासाटोल लगायत स्थानहरु खानी प्रभावित क्षेत्र हुन् । त्यस्तै खानीको कारण मकवानपुरगढीको वडा नम्बर २, ३, ४, ५, ६ को सामरी तटका स्थानीय प्रभावित छन् भने वडा नम्बर ८ र ७ का पनि प्रभावित छन् ।
खानीका कारण वडा नम्बर ७ र ८ का स्थानीयहरु बाह्रै महिना विभिन्न खाले समस्या खेप्नुपर्छ भने अन्य क्षेत्रका स्थानीयहरुले बर्षायाममा खोतीयोग्य जमिन र बस्ती कटानको समस्या बर्षेनी खेप्पदै आएका छन् । उनीहरुले हिउँदमा धुलोमैलो, सासफेर्दै पिच्छे र ध्वनी प्रदुषण, होस हुँदासम्म झेल्नुपर्छ ।
उद्योगले चार वटा खानीबाट करिब १० बर्ष भन्दा बढी समय बिना स्वीकृत खानी उत्खनन् गरेको पाइएको छ । स्थानीयका अनुसार २०६३–०६४ सालदेखि त्यस क्षेत्रमा चुनढुंगा उत्खनन् गरेको थियो । भुगर्व विभागले उपलब्ध गराएको सम्झौता अनुसार उत्खनन् स्वीकृती २०७१, २०७४, २०७८ मा स्वीकृती लिएको पाईएको स्थानीयहरु बताउँछन् ।
०७१ र ०७८ मा भएको सम्झौताको अवधि १५–१५ बर्ष छ भने ०७४ मा भएको ९ बर्षको मात्रै रहेको जनाइएको छ । उद्योगको लापरबाहीले सामरी तटमा रहेको स्थानीय गरिब किसानको खेतियोग्य जमिन बर्षेनी तहसनहस हुने गरेको गुनासो गर्छन ।