मल अभावले थाहाका कृषक चिन्तित

संवाददाता
२०७९ माघ २५, बुधबार ११:३४

हेटौंडा– पर्याप्त रासायनिक मल नपाउँदा थाहा नगर लगायतका कृषकहरु चिन्तित छन् । बेमौसमी तरकारी खेतीको लागि पहिचान बनाएको थाहा नगरका कृषकहरु जसोतसो खेती गरिएपनि मल अभावले उत्पादन नहुने भएपछि चिन्तित भएका हुन् ।

‘खेती त जसोतसो गरिएला तर मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ ।’, थाहा ३ का कृषक सरोज कार्कीले दुखेसो पोखे । उनी जस्तै मकवानपुर जिल्लाका अधिकांश किसानले रासायनिक मल नपाउँदा हैरान भएका छन् ।

रासायनिक मल नहाली तरकारी उत्पादन नहुने हुनाले किसानहरु खेती लगाउने कि नलगाउने दोधारमा परेका छन् । यतिबेला थाहाका किसानलाई आलु, काउली, बन्दा अन्य बालीका लागि ठूलो परिमाणमा रासायनिक मल आवश्यक छ ।

‘दिनभरि लाइनमा बस्यो १० किलो रासायनिक मलका पाईन्छ । हामीलाई कम्तीमा चार बोरा मल चाहिएको छ,’ कृषक बिजय अधिकारीले भने । बिगत २ बर्षदेखि रासायनिक मलको अभाव भएकोले कृषकहरुले सोचेजति उत्पादन लिन सकेका छैनन् ।

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ । रासायनिक मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ ।

सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहन परेको छ ।

थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले थाहा नगरमा एकै सिजनमा तीन पटकसम्म तरकारी उत्पादन हुने भएकोले प्रदेश सरकारले निर्धारण गरेको कोटाले मात्रै नपुग्ने हुँदा मलको बितरण प्रणालीलाई पुनः बिचार गर्नुपर्ने बताए ।

उनले थाहा नगरको लागि मलको कोटा बढाउनको लागि बागमती प्रदेश सरकारको मूख्यमन्त्री र कृषि तथा पशुपंक्षी मन्त्रालय समक्ष अनुरोध गरेका छन् ।

बागमती प्रदेशका लागि यस आर्थिक बर्षमा १४ हजार ८६ मेट्रिकटन रासायनिक मल प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडको बागमती प्रादेश कार्यालय हेटौंडाका प्रादेशिक प्रबन्धक प्रकाश चन्द्र ज्ञावलीले बताए । उनले बागमती प्रदेश कृषि मन्त्रालयले निर्धारण गरे अनुसार स्थानीय तहको सिफारिस अनुसार मलको बितरण गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*