लालझाडी र मकवानपुरगढीको अलपत्र पुलको ठेक्का तोड्ने भौतिक मन्त्रीको चेतावनी

संवाददाता
२०७९ माघ २५, बुधबार ११:३१

हेटौंडा– मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा ठेकेदारले अलपत्र पारेको पक्की पुलको निरीक्षण प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका छन् ।

दुलालले मंगलबार विकास निर्माणका आयोजना अलपत्र परेका कारण नागरिकले दुःख पाइरहेको भन्दै पुलको निरीक्षण गरेका हुन् । मकवानपुरगढीको ५ र ३ नम्बर जोड्ने पक्की पुल ५ वर्षदेखि अलपत्र छ । यसैगरी, हेटौंडा–१ लालझाडी र चौकिटोल जोड्ने पुल दुई वर्षसम्मा एउटा खाल्डो पनि पूरा खनिएको छैन् ।

मन्त्री दुलालले दुई वर्षमा एउटा खाल्डो खनिरहेको दृश्य मंगलबार प्रत्यक्ष देखेका छन् । केही दिनअघि लालझाडीका स्थानीयले चरणबद्ध आन्दोलनको चेतावनी दिएपनि प्रदेश सरकारले चासो दिएको हो । यसअघि लालझाडीकै पुलको काम छिटो गर्न मन्त्रालयमा छलफल भए पनि ठेकेदार पक्ष काम नगरी बसेको थियो ।

चौकिटोल र लालझाडी जोड्ने पुल तथा मकवानपुरगढीको सामरी खोलामा अलपत्र पुलको अवस्था हेरेपछि मन्त्री दुलालले काम तीव्र गतिमा सक्न निर्देशन दिएका छन् । मकवानपुरगढीमा ३ स्पानको उक्त पुल ठेकेदारको बदमासीले गर्दा अहिलेसम्म ३ वटा मात्र पिल्लर उठाइएको छ ।

पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा समेत निर्माणको काम अलपत्र छ । तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शंखरमाली जेभी नामक निर्माण व्यवसायी कम्पनीलाई १५ महिनाभित्र पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माणको जिम्मा दिएको थियो ।

तर निर्माण व्यवसायी कम्पनीको लापरबाही र सरोकारवाला निकायको मौनताका कारण हालसम्म पनि उक्त पुलको निर्माणको काम एक चौथाई पनि हुन नसकेको हो । नागार्जुन शंकरमाली जेभीलाई ५ करोड ३७ लाख ९२ हजार रुपैयाँ लागतमा २०७३ साल पुस ११ गते उक्त पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार, गत २०७४ चैत्र ११ गतेसम्ममा उक्त पुलको निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने हो । ठेक्का सम्झौता भएको ६ बर्ष बितिसक्दा समेत १ सय ३ मिटर लम्बाइको उक्त पुल अलपत्र अवस्थामा छ । समयमै पुल निर्माण हुन नसक्दा मकवानपुरगढी वडा नम्वर ३,४ र ५ का जनताले दैनिक रुपमा सास्ती खेप्दै आइरहेका छन् ।

हेटौंडाको लालझाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत्को भौतिक पूर्वाधार विकास कार्यालय, भरतपुर चितवनले निर्माण व्यवसायी शिवशक्ति–सिद्धार्थ–शिवम् जेभी मकवानपुरसँग ठेक्का सम्झौता गरेको थियो । पक्की पुल निर्माण गर्न २ वर्षअघि दिइएको ठेक्का अन्तर्गत् हालसम्म एउटा खाल्डो खन्नु बाहेक काम भएको छैन ।

२०८० जेठ १७ मा कार्य सम्पन्न गर्ने गरी २०७८ जेठ १८ गते भएको सम्झौता अनुसार काम नहुँदा स्थानीयहरु मारमा परेका छन् । पुल निर्माणका लागि ८ करोड ४७ लाखमा सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सम्झौताअनुसारको झण्डै ४० लाख बजेट बुझिसकेको छ तर, काम अघि बढ्न नसकेको जनाइएको छ ।

२० महिना बितिसक्दा हालसम्म कामको सुरुवातको नाममा एउटा खाल्डो खनिएको छ । पुल निर्माण हुने भएपछि स्थानीयहरुले छोड्नु पर्ने जमिन छाडिसकेका छन् ।

धेरै समय अगाडि ठेक्का लगाए पनि निर्माण व्यावसायीका कारण पुल निर्माणले गति लिन नसकेपछि मन्त्रीको नेतृत्वमा सचिव र सम्बन्धित कार्यालयका प्रमुखसहितको टोलीले स्थलगत निरिक्षण गरेको हो ।

पुल निर्माणको काम तिब्र गतिमा नगरे ठेक्का तोड्ने मन्त्री दुलालले चेतावनी दिएका छन् । सरकारबाट ठेक्का लिने र काम नगर्ने कम्पनीसँग ठेक्का तोडेर तीव्र गतिमा काम गर्ने गरी पुनः ठेक्का लगाउने योजनामा मन्त्री दुलाल पुगेको जनाइएको छ ।

मकवानपुरगढीको सामरी खोलामा निमाण गर्न लागिएको पुल हालसम्म पूरा नभएको भन्दै ठेक्का तोडेर फेरी ठेक्का लगाउने मन्त्री दुलालले बताएका छन् ।

पहिलो चरणमा निर्माण कम्पनीलाई काम गर्न लगाउने र नटेरेमा ठेक्का तोड्नुको विकल्प नभएको उनको भनाई छ । हेटौंडा–१ को निर्माणधीन पुलको निरीक्षण मन्त्री धारणा राख्दै मन्त्री दुलालले काम तीब्र गतिमा अगाडि नबढाए ठेक्का तोडेर अर्को ठेक्का लगाउने बाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*