मकवानपुरमा स्थानीय तहसँग पर्यटक भित्र्याउने योजना शुन्य
हेटौंडा– एउटा सिंगो राष्ट्रदेखि समुदायस्तरको समुन्नति र विकासका लागि नभइ नहुने माध्यम पर्यटन क्षेत्र हो । तर, नेपालको पर्यटनले अपेक्षाअनुसार गति लिन सकेको छैन ।
पर्यटनलाई अर्थतन्त्र चलायमानदेखि हरेक क्षेत्रको विकाससँग जोड्न सकिन्छ । पर्यटनको महत्व धेरै भएपनि सरकारका तीन वटै निकायले भने पर्यटनलाई धेरै योजनाबद्ध रुपले अगाडि बढाएको देखिँदैन । मकवानपुर पनि पर्यटनका लागि सम्भावना बोकेको जिल्ला हो ।
मध्यतराईमा पर्ने मकवानपुरमा ठूलो क्षेत्रफलमा फैलिएको तालदेखि हिमालको दृष्यावलोकन गर्न सकिने उच्च भूभागसम्म पाइन्छ । प्राकृतिक सौन्दर्यतासँगै सामरिक महत्वका संरचनादेखि कृतिमरुपमा सृजना गरिएका पर्यटकीय क्षेत्र पनि मकवानपुरभित्रै छ । तर, मकवानपुरकै पर्यटन क्षेत्रले गति लिन सकेको छैन ।
राज्य पुनःसंरचनासँगै बनेका केन्द्र, प्रदेश र स्थानीय सरकारले भौतिक विकासमा जोड दिँदा समुन्नति र विकासको मेरुदण्ड मानिएको पर्यटन क्षेत्र पछाडि परेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले पर्यटन विकासलाई चासो नदिएको पाइएको छ ।
स्थानीयसरकारको अघिल्लो कार्यकालमा पर्यटनलाई मुख्य चासो दिएर काम गर्नेमा थाहा नगरपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिका देखिएका छन् । थाहा, मनहरी र मकवानपुरगढीमा पर्यटन क्षेत्रको विकासमा करोडौं लगानी रहेको छ ।
थाहामा स्थानीय पार्कलगायतका पर्यटकीय संरचना निर्माण गर्नर प्रचारप्रसारमा करोडौं खर्चभएको हो । मकवानपुरगढी गाउँपालिकाले मकवानपुर राज्यमा विजय प्राप्त गर्दा पृथ्वीनारायण शाह हिँडेको खुँडेधार पदमार्ग निर्माण, मवानपुरगढी दरबारको पुनःनिर्माण, प्राकृतिक गुफा र धार्मिक पर्यटनमा करोडौं लगानी गरेको थियो । जसअनुसार मकवानपुरगढीमा अपेक्षा गरेभन्दा धेरै पर्यटक भिœयाउन सकिएको निवर्तमान गाउँपालिका अध्यक्ष बिदूर हुमागाईं बताउँछन् ।
उनका अनुसार विगतको तुलनामा मकवानपुरगढी दरबारमै पर्यटन आउने संख्यामा उल्लेख्य बृद्धि भएको छ । उक्त दरबारबाट गाउँपालिकाको आन्तरिक स्रोतमा समेत आम्दानी बढेको छ ।
पछिल्लो समय भीमफेदी गाउँपालिकाले पनि पर्यटन क्षेत्रलाई चासो दिएको छ । भीमफेदीले चिसापानी गढी, हात्तिसारलगायत सामरिक महत्वको संरचनाको पुनःनिर्माणमा जोड दिएको छ ।
पर्यटन क्षेत्रलाई नजिकसँग नियालीरहेकाहरुका अनुसार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी र भीमफेदीले पर्यटकीय क्षेत्रको विकास गरेपनि प्रचारप्रसारमा पनि ध्यान नदिएको पाइएको छ । स्थानीय सरकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ध्यान नदिँदा पर्यटकहरु भिœयाउन नसकिएको होटल एसोसिएसन मकवानपुरका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठ बताउँछन् ।
उनले जिल्लाकै पर्यटकीय क्षेत्रको विकासमा हेटौंडा उपमहानगरपालिकाको भूमिका धेरै हुने भन्दै बजार क्षेत्रमै प्रचारप्रसारका काम हुन नसकेको बताए । चारैतिरबाटै बाह्य तथा आन्तरिक पर्यटकहरु हेटौंडा आउने भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर प्रचारप्रसार हुन नसकेको उनले बताए ।
नेपाल पर्यटन बोर्डको तथ्याड्ढ अनुसार जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् ।
तर, मकवानपुरमा आउने पर्यटक भने न्यून रहेको होटल व्यवसायीहरुले बताए । हजारौं पर्यटक नेपाल आउँदा पनि काठमाडौंबाट नजिकमा रहेको मकवानपुरमा पर्यटक आउन नसक्नुले यहाँको पर्यटन क्षेत्रको प्रचारप्रसार हुन नसक्नु रहेको होटल व्यवसायीहरु बताउँछन् ।
बोर्डका अनुसार जनवरीमा नेपालमा सबैभन्दा धेरै पर्यटक भारतीय आएका छन् । भारतसँग नेपालको मुख्य नाका बीरगञ्जबाट हेटौंडा नजिक भएता पनि भारतीयहरु मकवानपुरमा अडिने गरेका छैनन् ।
भारतीय पर्यटकहरुलाई मकवानपुरमै ‘होल्ड’ गरेर राख्ने योजना स्थानीय तहहरुसँग नभएको होटल एसोसिएसनका निवर्तमान अध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पर्यटन क्षेत्रको विकासका लागि १० वटै स्थानीय तहबाट व्यवस्थित योजनासहितका कार्यक्रम लैजान आफूले भूमिका खेल्ने बताए । यसअघि समन्वय समितिकै नेतृत्वमा नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै मकवानपुरमा ३० ओटा पर्यटकीय गन्तव्य पहिचान गरिएको थियो ।
जिल्लाका १० वटै स्थानीय तहले आफ्नो क्षेत्रका ३÷३ पर्यटकीय स्थल पहिचान गरेका थिए । छनौट भएका गन्तव्य स्थलको प्रचारप्रसार तथा आवश्यक संरचना निर्माणका लागि स्थानीय तहले विस्तृत परियोजना काम गर्ने बताए पनि अधिकांश स्थानीय तहले चासोका साथ काम गरेको नदेखिएको श्रेष्ठले बताए ।
हेटौंडा उपमहानगरमा सहिद स्मारक, चुरियास्थित नेपालकै पहिलो सुरुङमार्ग र गुम्बाडाँडामा रहेको मूर्ति बगैंचालाई पर्यटकीय गन्तव्यका रुपमा छनौट गरेको थियो । थाहानगरले दामन, सीमभञ्ज्याङ, चित्लाङ र राष्ट्रिय विभूति पार्कलाई पर्यटकीय गन्तव्यमा छनोट गरेको छ ।
कोटथुम्की, पाण्डुकेश्वर, ऋषेश्वर, मैत्रीबगैंचा, कुटकुटेश्वर, टिस्टुङको नर्बे ढुंगा, आग्राको डाँडेबास, बज्रबाराही, चन्द्रागिरी लगायत पर्यटकीय गन्तव्य थाहानगरमै रहेपनि तीनओटामात्रै छनौट भएका थिए ।
मनहरी गाउँपालिकाले पिस पार्क, रमौली जंगल सफारी र बनकरिया होमस्टेलाई पर्यटकीय गन्तव्यमा छनौट गरेको थियो । मकवानपुरगढीमा मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र शहीद रुद्रवाटिका पार्कलाई छनौट गरेको थियो ।
भीमफेदीले ऐतिहासिक चिसापानीगढी, हात्तीसार र त्रिखण्डी मन्दिर क्षेत्र, राक्सिराङ गाउँपालिकाले पाइराङ भीम्बुङ, जलपरी झरना, चमेरे गुफा र चैनपुरस्थित चेपाङ संग्रहालय, इन्द्रसरोवर गाउँपालिकाले इन्द्रसरोवर ताल, भालेश्वर मन्दिर र मदन भण्डारी फाखेल मैत्रीपार्क चौकोटदेवी मन्दिर, कैलाश गाउँपालिकाले कैलाशवैकुण्ठ, देखारी र घैराङ पर्यटक पार्कलाई पर्यटकीय गन्तव्यमा छनौट गरेको हो ।
बकैया गाउँपालिकाले गौतमबुद्ध पर्यटन पार्क, धानेश्वर पार्क र बकैया ठाकुर पर्यटन पार्क, बागमती गाउँपालिकाले झुरझुरेस्थित शहिद स्मारक पार्क, गोल्मेदरबार क्षेत्र र बेतिनीस्थित वनभोज स्थललाई पर्यटकीय गन्तव्य छनौट गरेको थियो ।
तर, स्थानीय तहहरुले पर्यटन क्षेत्रको विकासमा आवश्यक बजेट बिनियोजन नगर्दा संरचना निर्माण र प्रसारप्रसार कार्य हुन सकेको छैन । स्थानीय तहहरुले भौतिक पूर्वाधार निर्माण र अनुदान कार्यमा बढी ध्यान दिँदा पर्यटन क्षेत्र ओझेलमा परेको गुनासो छ ।