हेटौंडा महोत्सवमा बुधवार एकैदिन ५ हजार दर्शक आए

हेटौंडा– हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बुधवार एकैदिन ५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक मकवानपुर उद्योग वाणिज्य संघका अनुसार एकैदिनमा ५ हजार दर्शकले महोत्सवमा रहेका सामग्री खरिदसँगै मनोरञ्जन लिएका छन् ।
गत शनिवार भने मेलामा २५ हजार दर्शक आएका थिए । यो संख्या हालसम्मकै उच्च हो । त्यस यता दैनिक २ हजारदेखि ५ हजारसम्म दर्शकहरुको अवलोकन भएको संघले जनाएकाे छ ।
संघका अनुसार बुधवार ३ सय भन्दा बढी स्टलहरुमा गरेर २० लाख बढी कारोबार भएको हो । ११ माघदेखि सुरु महोत्सवमा दैनिक सांगीतिक कार्यक्रम, बाल उद्यानको क्षेत्रमा मनोरञ्जनन क्रियाकलापसँगै सुनबाहेकको सामग्रीको व्यापार पनि जारी छ । बुधवार एकैदिनमा करिब ५ हजार दर्शकले महोत्सव अवलोकन गरेको संघका अध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका–१०, स्थित भुटनदेवी चौरमा भइरहेको महोत्सवमा बुधवार गायक युवराज चौलागाईले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । उनले लैजा चरी…, तिम्रा डोला डोलाहातमा…, टुनमा को धुनमा…, तिमिलाई के भनौं जस्ता विभिन्न गीतहरु गाए । महोत्सवको आठौं दिनमा अवलोकनकर्ता दर्शकहरुले गीतसंगीतमा झुम्दै स्टलहरुको अवलोकन गरेका हुन् । महोत्सवमा गायक विश्व नेपाली र गायिका शीलु भट्टराईले पनि आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।
साथै कमेडियन सुदिप थापाले महोत्सवमा उपस्थित दर्शकहरुलाई प्रहशन गर्दै हसाएका छन् । आज बिहीबार महोत्सवमा गायकहरु प्रिति आले, हेमन्त शर्मा, कृष्ण काफ्ले, शिवहरि नेपाल, मोडल तथा डान्सर करिश्मा ढकाललगायतका कलाकारले आफ्नो प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक तथा संघका उपाध्यक्ष उज्वल चौलागाईले जानकारी दिए । भोली शुक्रबार भने चर्चित व्याण्ड कर्मा व्याण्डको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । महोत्सवलाई हेटौंडाको उत्पादन शिवम् सिमेन्टले प्रायोजन गरेको छ भने सहप्रायोजनमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मीग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक तथा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।
मेलामा जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सहआयोजकमा बागमती प्रदेश सरकारको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।
१० औं राष्ट्रिय औद्योगि कव्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो, कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फनपार्क स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।