रवि लामिछानेले पुनः नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने

संवाददाता
माघ १४, २०७९

काठमाडौं– निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुन नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने भएका छन् ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकता लिएर उप(निर्वाचन लड्न पाउने गृह मन्त्रालयका एक सहसचिवले नेपाल प्रेससँग बताए ।

उनका अनुसार प्रक्रिया पुर्‍याएर नागरिकताको प्रतिलिपि जारी गरेर उनले नागरिकता लिन पाउनेछन् । त्यसै आधारमा उप–निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

निर्वाचन आयोगका एक निर्वाचन आयुक्तका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार अब निर्वाचन आयोगले उप–निर्वाचन गर्नुपर्नेछ । उप–निर्वाचनको मिति घोषणा भएपछि लामिछानेले नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि त्यसै आधारमा उम्मेदवारी दिएर उप–निर्वाचन लड्न उनलाई कुनै बाधा पर्नेछैन ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने बित्तिकै उनले पुन नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

त्यसपछि उनले नागरिकताको प्रतिलिपि प्राप्त गर्नेछन् । निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*