मकवानपुरगढीमा पानी ल्याउन मुहान खोज्दै जनप्रतिनिधि

संवाददाता
माघ १४, २०७९

हेटौंडा– खानेपानीको अभाव कायमै रहेको मकवानपुरगढी गाउँपालिकाको २, ३ र ४ वडा पानी ल्याउन जनप्रतिनिधिहरु मुहान खोज्न लागि परेका छन् । शुद्ध र स्वच्छ पानी ल्याउन जनप्रतिनिधिहरु ८ नम्बर वडाको बुढीचौर क्षेत्रमा उपलब्ध पानीको स्रोतको अध्ययनमा लागेका हुन् ।

यसअघि गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, उपाध्यक्ष मानकुमारी पाख्रिन, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बुढीचौर खोलाको पानीलाई साविकको गढी गाविस (हालको २, ३ र ४ नम्बर वडा)मा ल्याउन स्थलगत अध्ययन गरेका थिए ।

हाल गाउँपालिका अध्यक्ष स्याङतान, वडाध्यक्ष घिमिरे प्राविधिकहरु लिएर पुनः बुढीचौर पसेका छन् । यसअघि बुढीचौरको पानी ल्याउन अध्ययन गरेता पनि हाल मानववस्ती भन्दा टाढा रहेको खहरेको पानी ल्याउन निरीक्षण गरिएको छ ।

साविक गढीमा खानेपानी समस्या भएपछि त्यसको दीर्घकालीन समाधानको लागि ८ नम्बर वडामा रहेका विभिन्न पानीका मुहानहरुको प्रारम्भिक अध्ययन भइरहेको वडाध्यक्ष घिमिरेले जानकारी दिए ।

गाउँपालिका नेतृत्वले बुढीचौरकै धन्दुरी खोलाको पानी ल्याउने तयारी स्वरुप अध्ययन गरेको हो । मानवबस्तीबाट टाढा रहेको धुन्दुरी खोलाको पानी फोहोरमुक्त रहेको र पिउनको लागि एकदमै स्वच्छ र शुद्ध रहेको पाइएको घिमिरेले बताए

। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियरसहितको प्राविधिक टोलीले धुन्दुरी खोलाको पानी गढीमा ल्याउन सम्भाव्यता अध्ययन गरेको हो ।हालको मकवानपुरगढी गाउँपालिकाको वडाहरु २, ३ र ४ मा संचालनमा रहेको बृहत खानेपानी योजनामा पानीको अपुग भएपछि थप मुहानको खोजी भएको हो ।

२ नम्बर वडामा रहेको धवाडी खोल्सीको पानीलाई बृहत खानेपानी योजनाको मुहानको रुपमा प्रयोग गरिएको छ । धवाडी खोल्सीको पानी अपुग भएपछि अन्य मुहानको खोजी गरिएको हो ।

मकवानपुरगढीका पूर्वअध्यक्ष बिदुर हुमागाईंको अगुवाई तथा तत्कालीन संघीय अर्थसमितिका सभापति तथा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्ण प्रसाद दाहालको विशेष पहलमा मकवानपुरगढी गाउँपालिकाको खानेपानी समस्याको दीर्घकालीन समाधानको लागि यसअघि नै योजना समावेश भइ १५ करोड बजेटसमेत विनियोजन भएको छ ।

२ वर्षभित्र योजनाको काम सम्पन्न गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने गरी काम अघि बढाईएको खानेपानी योजनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले बताए ।

मकवानपुरगढीमा पछिल्लो समय बजारीकरण, व्यवसायिक पशुपालन, पर्यटकीय क्षेत्रको विकासलगायतका कारण पानीको खपत धेरै भइरहेको छ । खपत बढेकाले सीमित पानीको स्रोतका कारण अभाव बढ्दो रहेको हो । सोही कारण यहाँ खानेपानी आपूर्तिका लागि लिफ्ट सिस्टमका विभिन्न योजनाहरु पनि संचालनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*