बिचौलिया प्रवेशमा रोक लगाउने मन्त्री श्रेष्ठको निर्णय
हेटौंडा– बागमती प्रदेशका नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात कार्यालयहरुमा बिचौलियाहरुको प्रवेशलाई रोक लगाउने निर्णय गरेका छन् ।
बिचौलियाका कारण यातायात कार्यालयहरुमा सेवाग्राहीलाई सास्ती भोग्नु परेको भन्दै श्रेष्ठले बिचौलियाहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् । तर, श्रेष्ठलाई आफ्नै निर्णय भारी पर्ने कतिपयले आशंका गरेका छन् । उनकै गृहनगर हेटौंडामा रहेको यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक्न यसअघिका तीन वटा प्रदेश सरकारले सकेका थिएनन् ।
बागमतीको चौथो सरकारका दोस्रो यातायात मन्त्री श्रेष्ठलाई पहिला आफ्नै गृह नगर हेटौंडाको यातायात कार्यालयमा बिचौलिया प्रवेशमा रोक लगाउनुपर्ने चुनौती देखिएको छ ।हेटौंडा–११, थानाभ¥याङमा रहेको यातायात कार्यालयमा बिचौलिया भित्रसम्मै प्रवेश गर्ने गरेका छन् ।
प्रदेशमा मन्त्री बने लगतै पहिलो पटक १० वटा निर्णय गरेका मन्त्री श्रेष्ठले बिचौलियाको प्रवेशमा रोक लगाउने निर्णयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन् । हरेक यातायात कार्यालयमा बिचौलिया मार्फत नागरिकले सेवा लिनुपर्ने बाध्यता छ ।
सेवाग्राहीले यातायात सम्बन्धी तिर्नुपर्ने सवारीकर, पटके कर घरबाट नै तिर्न सक्ने व्यवस्था मिलाउने निर्णय पनि मन्त्री श्रेष्ठले गरेका छन् । त्यसैगरी यातायात कार्यालयमा चालक अनुमति पत्रको लागि हुने गरेको भिड नियन्त्रण गर्ने निर्णय पनि उनले गरे ।
यसैगरी, यातायात व्यवस्था कार्यालयबाट प्रयोगात्मक परिक्षा दिएको तीन दिनभित्र अन्तिम परिक्षा प्रकाशित गर्ने निर्णय पनि उनले गरेका छन् । प्रदेश सरकारले १० हजार जना युवालाई दिने तालिम तत्काल कार्यान्वयन गरिने निर्णय गरेको जानकारी दिए ।
प्रदेश श्रम नीतिलाई लागू गरेर प्रदेश मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय उनले गरेका छन् । श्रम नीति लागू गरेर श्रमिक मजदुरहरुको विद्यमान समस्या समाधान गर्न पनि मन्त्री श्रेष्ठलाई ठूलो चुनौती देखिएको छ । उनको गृह नगर हेटौंडाकै औद्योगिक क्षेत्रमा समयमै तलब नपाउनेलगायतका थुप्रै समस्याबाट श्रमिकहरु पीडित बनेका छन् ।