विकट राक्सिराङका ८१ प्रतिशत सुत्केरी ‘घरमै असुरक्षित’

संवाददाता
माघ ५, २०७९

हेटौंडा– मकवानपुरको चैनपुरमा अधिकांश गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । सुत्केरी व्यथा लागे पनि गाउँका चेपाङ झाँक्री ल्याएर ढ्यांग्रो ठोक्दै झारफुक गर्ने गरिएको छ ।

राक्सिराङ गाउँपालिका–५ ताङराङकी २६ वर्षीया शर्मिला चेपाङलाई व्यथाले च्यापे पनि स्वास्थ्य संस्था लगिएन । धामीझाँक्री लगाएर घरमै बच्चा जन्माइन् । यो उनको चौथो सन्तान हो । उनले गर्भ परीक्षण पनि गराइनन् । स्वास्थ्यचौकीमा सुत्केरी भयो भने भत्ता पाइन्छ भन्ने उनलाई र परिवारलाई नै जानकारी छैन ।

‘गाउँमा सुत्केरी घरमा नै हुन्छन्, अस्पताल लैजाँदैनौं,’ स्थानीय बलराम चेपाङले भने, ‘अस्पताल टाढा छ, कसरी लैजानु, हाम्रा छोराछोरी पनि घरमा नै जन्मेका हुन् ।’

चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङका १९ प्रतिशत गर्भवती मात्र बर्थिङ सेन्टरमा सुत्केरी हुने गरेका छन् । ९ वटा वडामा विभाजित राक्सिराङमा एक वर्षमा ७ सय जना गर्भवती हुने अनुमान गाउँपालिका स्वास्थ्य शाखाले गरेको छ ।

गत आर्थिक वर्षमा सात सय गर्भवतीमा १ सय ३५ जनामात्र स्वास्थ्य संस्थामा सुत्केरी हुन आएको स्वास्थ्य संयोजक विजयकुमार कापरीले जानकारी दिए । अशिक्षा, अन्धविश्वास र परम्परागत चिन्तनका कारणले करिब ८१ प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेका उनले बताए ।

गाउँपालिकाको केन्द्र रहेको चैनपुरस्थित बर्थिङ सेन्टरमा ६ महिनामा १३ जनामात्र सुत्केरी भएका छन् । तीमध्ये ५ जना १४ देखि १९ वर्षसम्मका छन् । गर्भ परीक्षण गराउन १५ जना मात्र आएका छन् । राक्सिराङमा चारवटा बर्थिङ सेन्टर छन् । सबै वडामा स्वास्थ्य संस्था छन् । संस्थामा सुत्केरी हुनेलाई सवारीसाधनको भाडासहित थप ३ हजार रुपैयाँ दिने गरिएको छ ।

कैलाश गाउँपालिकामा पनि एक वर्षमा साढे ६ सय जना गर्भवती हुने अनुमान गरिएकामा १ सय १० मात्र स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । स्वास्थ्य निर्देशनालय हेटौंडाका अनुसार मकवानपुरका ५८ प्रतिशत गर्भवती घरमै असुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*