पर्यटन प्रवद्र्धनमा जुट्दै स्थानीय सरकार, चितवनमा थाहाको फोटो प्रदर्शनी
हेटौंडा– थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा थाहा नगर आसपासको फोटो प्रदर्शनी गरिने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा २०७९ माघ ४ देखि १५ सम्म चल्ने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनीका लागि राखिने भएको हो ।
थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालिका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिने छन् ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले यो महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णु बहादुर बिष्टले बताए । यस अघि काठमाडौको बसन्तपुरमा ३ दिन थाहा नगरको फोटो प्रदर्शनी गरिएको थियो ।
थाहा नगरपालिकाको आयोजनामा तथा फरक सोचको समन्वयमा गत कार्तिक १९,२० र २१ गते गरिएको उक्त प्रदर्शनीमा करिब १३ हजारले अवलोकन गरेको र त्यस प्रदर्शनीले थुप्रै आन्तरिक पर्यटकलाई थाहा नगरसम्म आउने वातावरण बनाएकोले चितवनमा पनि फोटो प्रदर्शनी गर्न लागिएको पनि नगर प्रमुख विष्टले बताएका छन् ।
यस पटकको प्रदर्शनीे थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको समन्वय रहने छ भने कार्यक्रमको ब्यवस्थापन थाहा नगर उधोग बाणिज्य संघको गर्नेछ । १० दिनसम्म चल्ने महोत्सवमा करिब १५ हजारले अवलोकन गर्ने पुर्वानूमान रहेको कार्यक्रमका संयोजक तथा थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए ।
फरक सोच अभियानले आफ्नो ब्यवस्थापनमा काठमाण्डौमा भएको फोटो प्रदर्शनीमा बिक्री भएको फोटोबाट प्राप्त भएको ८० हजार ६ सय रुपैयाँ राजस्व सहित प्रदर्शनीका निम्ति तयार पारियका ६३ थान माउन्ट गरिएको ४० हजार ८२४ रुपैयाँ बराबरको फोटो समेत नगरलाई बुझाएको थियो ।
चितवनको खैरहनीमा हुने महोत्सवमा अहिले ६० ओटा फोटो प्रदर्शनीका लागि राखिने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए ।