बिमान दुर्घटनाप्रति मुख्ममन्त्री जम्मकट्टेलद्वारा दुःख व्यक्त
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको बिमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलायन्सको विमान बिहान ११ः०० बजेको समयमा गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका–१५, नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा बिमान चालक दलका ४ जना सदस्यसहित धेरै नेपाली र विदेशी पर्यटकहरुको निधन भएको खबरले दुःखित भएको जम्मकट्टेलले जनाए । ‘यस किसिमको नेपाली आकाशमा आन्तरिक उडान तर्फको सबैभन्दा ठुलो मानवीय क्षति सहितको विमान दुर्घटना दुःखद खबरले देश नै शोकमग्न अवस्थामा पुगेको छ ।,’ उनले शोक वक्तव्य जारी गर्दै उल्लेख गरेका छन् ।
मुख्यमन्त्री जम्मकट्टेलले दुर्घटनामा ज्यान गुमाउने विदेशी पाहुनाहरु तथा नेपालीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस शोकको घडीमा शोकाकुल परिवार र आफन्तहरुमा बागमती प्रदेश सरकारको तर्फबाट समवेदना व्यक्त गरेका छन् ।
यस किसिमको बढ्दो हवाई दुर्घटनाले विगतमा दुर्घटना हुँदा गठन भएका छानविन आयोगहरुका प्रतिवेदनले हवाई यात्रालाई सुरक्षित एवं भरपर्दो बनाउनको लागि दिएका सुझावहरु के–कति कार्यान्वयन गरिए समिक्षा गर्नुपर्ने महशुस गराएको उनको भनाई छ ।
यस सम्बन्धमा नेपाल सरकारले गहन रुपमा अध्ययन गरी नेपालको हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउनको लागि आवश्यक नीतिगत सुधार तथा योजनाहरु अघि बढाउनेछ भन्ने विश्वास समेत लिएको उनको भनाई छ ।