सिस्नेरीमा १ सय १६ जनाको स्वास्थ्य जाँच

हेटौंडा– इन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडास्थित, सिस्नेरीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
गाउँपालिका कार्यालयको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा न्यानो कपडा वितरण पनि गरिएको छ ।
कार्यक्रममा १ सय १६ जनाले स्वास्थ्य परीक्षण गराएको गाउँपालिकाले जनाएको छ । परीक्षण गरिएकाहरु मध्ये १ सय १५ जनालाई निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाले जानकारी दियो ।
कार्यक्रममा १ सय ८७ जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले बताए । उनका अनुसार गाउँपालिकाले वडा नम्बर ३ मा २ सय ७८ जनालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य लिएको थियो ।
गाउँपालिकाले ‘सबैको ध्यान ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ कार्यक्रम संचालन गरेको हो । गाउँपालिका भित्र ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका एकल महिला तथा ‘क’ वर्गको रातो परिचय पत्र भएका अपांगता समूहलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको उनले जानकारी दिए ।
कार्यक्रम सामाजिक विकास समितिका संयोजक चन्द्रकुमार बलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामा, वडा नम्बर ३ का अध्यक्ष प्रभात भोम्जन लगायतको उपस्थिति थियो ।