हेटौंडाका डेरी उद्यमी दाजुभाईः विदेश निर्यात गर्छन् छुर्पी

संवाददाता
२०७९ पुष १७, आईतवार १०:४३

सरोज पौडेल

हेटौंडा– हेटौंडाका कोइराला दाजुभाइले जन्मथलोमै बसेर कृषि क्षेत्रबाटै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।

मकवानपुरमा २०६९ जेठमा सिर्जन कोइराला र निराजन कोइराला २ दाजुभाइ मिलेर स्थापना गरेको गायत्री डेरी उद्योगमार्फत प्रत्यक्ष रुपमै ७० जनालाई रोजगारी दिएका छन् ।

फूड टेक्नोलोजी अध्ययन गरेका दाइ सिर्जन कोइराला २०६९ सालअघि हेटौंडा डेरी उद्योगमा फूड टेक्नोलोजिस्टको रुपमा कार्यरत थिए । भाइ निराजन कोइराला डेरी टेक्नोलोजिस्ट हुन् ।

सिर्जनले हेटौंडा डेरी उद्योगमा २ वर्षसम्म काम गरे भने पछि टेक्नोलोजिस्टकै रुपमा २०६६ सालतिर पश्चिम अफ्रिकातिर गए । ३ वर्ष उतै बसेका उनी स्वदेश फर्किंदा भने पुनः उतै जाने गरी ‘रिटर्न टिकट’ लिएर आएका थिए । विदेशमा रहँदा डेरी उत्पादन सम्बन्धी देखेर आएका उनी नेपाल झरेपछि यतै रोकिए ।

स्वदेशमै डेरी उत्पादनको सम्भावना खोज्दै ८–१० लाख रुपैयाँ लगानी गरी २ दाजुभाइले मिलेर मकवानपुरको भिमफेदी गाउँपालिकास्थित भैसेमा सामान्य २ कोठा लिएर सानो डी–फ्रीज र सानो मशिन औजारहरु राखेर ट्रायलको रुपमा उद्योग नै सञ्चालन गरे ।

सुरुवाती चरणमा स्थानीय दुग्ध सहकारी, कृषकहरुमार्फत दूध संकलन गरी दूध, दही, घ्यु, चिज उत्पादन गर्न लागे तापनि उनीहरुको पहिलो प्रयास सफल हुन सकेन ।

विशेषगरी छुर्पी उत्पादनका लागि चिसो ठाउँ आवश्यक पर्ने भएकाले मकवानपुरको भैसेस्थित किटनीको डाँडामा सञ्चालन गर्न लागिएको थियो तर त्यहाँ भौगोलिक समस्याले गर्दा दूध लैजान र उत्पादन साम्रगी हेटौंडा ल्याउन समस्या हुन पुगेको सिर्जनले बताए ।

त्यसलगत्तै छुर्पी बनाउन आवश्यक चिसो बनाउने उपकरण जडान गरी हेटौंडा उपमहानगरपालिका–२ मनकामना रोडमा रहेको आफ्नै निवासबाट उद्योग सञ्चालन गरिएको उनले बताए ।

‘हेटौंडा ल्याइसकेपछि पनि हामीले पहिले दूध, दही, घ्युको मात्र उत्पादन गथ्र्यौं,’ उनले भने । हेटौंडा बजार निकै साँघुरो थियो तर पनि प्रतिस्पर्धा धेरै थियो । हेटौंडाको बजार सानो भए पनि यहाँ ९ वटा डेरी उद्योग थिए ।

‘निकै प्रतिस्पर्धात्मक बजार भएका कारण त्यो समयमा हामीले दूध, दही, घ्युको अलावा छुर्पी पनि उत्पादन गर्ने सोच राख्यौं । त्यसलगत्तै उद्योगमा छुर्पी बनाउन आवश्यक पर्ने चिसो बनाइराख्ने उपकरणहरु जडान गर्यौं र उत्पादन भयो ।,’

यसबीच २ दाजुभाइले हेटौंडामा रहेका अन्य डेरी उद्योगलाई पूर्वी इलाम लगायत अन्य जिल्लाबाट क्रिम ल्याएर आफ्नो उद्योगबाट प्रशोधन गरी बटर बनाएर ठूलो परिमाणमा बिक्री वितरण समेत गरेको अनुभव सुनाए ।

बटर बनाउँदा कुनै समय बटर बनाउन आवश्यक क्रिम कहिले धेरै मात्रामा आउने भयो, कहिले आउँदै नआउने भएपछि के रहेछ भनेर फिल्ड भिजटमा इलाम पुग्दा त्यहाँ ठूलो परिमाणमा छुर्पी उत्पादन हुने र निकै ठूलो परिमाणमा बाहिर निर्यात हुने गरेको थाहा भएको उनले बताए ।

‘हामीले इलाममा सानो–सानो परिमाणमा घरमा कतै सानो घरेलु उद्योग खोलेर छुर्पी उत्पादन गरेको देख्यौं,’ उनले भने, ‘इलाम, पाँचथर लगायत जिल्लामा किसानहरुले घरमै १ क्यान दूध, आधा क्यान दूध राखेर घरमा छुर्पी उत्पादन भएको देखिसकेपछि हामीले ती छरिएर रहेका साना–साना परिमाणमा उत्पादन भएका छुर्पीलाई संकलन वा एकीकृत गरी आफ्नो उद्योगसँग जोड्न सक्छौं कि सक्दैनौं भनी सोच्यौं । त्यसपछि धेरै रिसर्च र हेटौंडामा आरएनडी गर्यौं ।,’

२०६९ सालबाट सानो लगानीमा परीक्षणको रुपमा सञ्चालनमा आएको उद्योगले अहिलेसम्म आउँदा छुर्पीमा राम्रो बजार बनाइसकेको छ । उनले उत्पादित छुर्पीको ५० प्रतिशत बिक्री काठमाडौं र बाँकी ४० प्रतिशत बिक्री भारत हुँदै विदेश जाने गरेको बताए ।

अहिले उद्योग आफैंले दैनिक ८–१० हजार लिटर दूधबाट छुर्पी उत्पादन गर्ने गरेको छ । उनका अनुसार अहिले हेटौंडा–२ मनकामना रोडमा रहेको उद्योगबाट प्रशोधन हुन्छ भने हेटौंडा–८ कमानेमा रहेको उद्योगबाट ड्राइ हुने गरेको छ ।

त्यहाँ प्रोसेसिङ र फिनिसिङ लगायतको काम हुन्छ र युरोपियन देशहरु, एसियाकै कतिपय देश र अमेरिकासम्म मकवानपुरको छुर्पी निर्यात हुने गरेको उनले बताए । क्यानडा, यूके, अमेरिका, एसियन देशहरु, जापान, कोरियासम्म नेपाली उद्योगबाट उत्पादित छुर्पी निर्यात हुने गरेको छ ।

अहिले दैनिक रुपमा उद्योगबाट १ हजारदेखि १५ सय किलोसम्म छुर्पी उत्पादन भइरहेको छ । १० लाखबाट सुरु भएको उद्योगको कूल पुँजी अहिले लगभग ७÷८ करोड पुगेको सिर्जनले बताए ।

उद्योगबाट हाल छुर्पीबाहेक दूध, दही, घ्यू, पनिर, चिज पनि उत्पादन हुने भए तापनि विश्वव्यापी कोरोना संक्रमणले डेरी उद्योगलाई चुनौती थपेको निराजनले बताए ।

कोरोना महामारीअघि र पछिको स्थिति हेर्ने हो भने लगभग ५० प्रतिशत दूधको उत्पादन घटेको उनले बताए । सरकारको नीतिगत समस्याले गर्दा अहिले पाउडर र दूध दुवै बाहिरबाट नआएको उनले बताए । (लोकान्तरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*