मकवानपुरमा रोकिएन मानव अधिकारविरुद्धको घटना, परिवारबाटै हत्या र बलात्कारको शिकार

हेटौंडा– मकवानपुरमा मानव अधिकार उल्लघंनको घटनामा कुनै परिवर्तन नआएको एक अध्ययनले देखाएको छ ।
अंग्रेजी वर्ष स्न २०२१ र स्न २०२२ मा मानव अधिकारविरुद्धको घटनामा कमी नआएको मानव अधिकारको क्षेत्रमा वर्षौदेखि काम गर्दै आइरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जानकारी दिएको छ ।
शनिवार हेटौंडामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशनका लागि मकवानपुरको सन् २०२२ को मानव अधिकारको स्थिति पूर्व वार्षिक समिक्षामा प्रस्तुत तथ्यांकले मानव अधिकारको घटनामा कुनै परिवर्तन नआएको देखिएको छ ।
राज्य पक्षदेखि अन्य पक्षबाट पनि मानव अधिकार हनन्का गतिविधि भएको इन्सेकले जनाएको छ । सन् २०२२ को अवधिमा मकवानपुरमा मानव अधिकार उल्लघंन तथा ज्यादतीका ७० वटा घटना भएको इन्सेकको तथ्यांकमा छ ।
राज्य पक्षबाट ७ जना र अन्य पक्षबाट ६६ जना मानिस पीडित भएको जनाइएको छ । पीडित हुनेमा ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसंख्यक महिला छिन् ।
बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारका ३ जना यौन दुव्र्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा पीडित भएको इन्सेक मकवानपुरका प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिए ।
महिला अधिकारका घटनामा २५ जना पीडित भएकोमा १० जना बलात्कार, ४ जना बलात्कारको प्रयास, ४ जना बहुविवाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
यस अवधिमा ८ वटा हत्याका घटना भएका छन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै, १४ वटा हत्या प्रयासका घटनामा ३ महिला, १० जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
२०२२ मा परिवारबाट ४ जना बालिकासहित ५ ओटा बलात्कार, १ यौन दुव्र्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु (छोरी)सहित ६ ओटा हत्याको घटना इन्सेकमा अभिलेख रहेको छ ।
इन्सेकको अभिलेखालयमा गत बर्ष सन् २०२१ मा मानव अधिकार उल्लघंनका तथा ज्यादतीका ७८ वटा घटनामा अन्य पक्षबाट ७८ जना मानिस पडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका हुन् ।
बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुव्र्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका छन् । महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन दुव्र्यवहार र ६ जना बहुविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
यस अवधिमा १० ओटा हत्याका घटना भएका छन् । जसमा ५ जना महिला र ४ पुरुष छन् । एक कुटपिटको घटना इन्सेकमा अभिलेख भएको छ । सन् २०२० मा मकवानपुरमा ६२ वटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसंख्यक महिला पीडित भएको तथ्याङ्क छ ।
विगतका तीन वर्षको अवस्थालाई मुल्यांकन गर्दा मानव अधिकारविरुद्धको घटनामा उल्लेखनीय परिवर्तन नआएको इन्सेकले जनाएको छ । २०२० मा भन्दा २०२१ मा घटना बढेका थिए भने २०२२ मा आएर ७ वटा घटना कम छन् । तर, मानव अधिकार उल्लघंनको अवस्थालाई सुधारात्मक भन्न नसकिने इन्सेकले जनाएको छ ।
मानव अधिकारको रक्षा गर्नुपर्ने प्रमुख दायित्व बोकेको राज्य पक्षबाटै मानव अधिकार उल्लघंनको घटना भएको इन्सेकले जनाएको छ । निर्वाचन विरोधि गतिविधि गरेको भन्दै हेटौंडाबाट नेकपा बहुमत पार्टीका सात जनालाई प्रहरीले ४ मंसिरमा गिरफ्तार गरेको घटनालाई इन्सेकले राज्य पक्षलाई दोष देखाएको छ ।
इन्सेकको अभिलेखमा कुटपिटतर्फ हेटौंडामा दुई पत्रकार कुटिएको घटना समावेश भएको छ । बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि १८ मंसिरमा समाचार प्रकाशनको विषयलाई लिएर कुटपिट गरेको घटनालाई मानव अधिकार उल्लघंन भएको इन्सेकले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडिमा १ मंसिरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको घटनालाई पनि इन्सेकले मानव अधिकारविरुद्ध लिएको छ । हेटौंडा क्याम्पसमा परीक्षा दिन आएकी २१ वर्षीया छात्रामाथि परीक्षा हलभित्र प्रवेश गर्दा जाँचको क्रममा गार्डले दुव्र्यवहार गरेको विषयमा इन्सेकको अभिलेखमा छ ।
इन्सेकले केही घटनालाई यसरी अभिलेख गरेको छ ।
नवजात शिशु हत्या
नवजात शिशुको हत्याको आरोपमा प्रहरीले कैलाश गाउँपालिका १० की ३६ वर्षीया आमा फुलमाया मोक्तानलाई ०७८ चैत ११ गते गिरफ्तार गरेको थियो ।
आरोपितले चैत १० गते जन्मिएकी छोरीलाई सालनालसहित सोही स्थानको कपसिरी जंगलमा गाडेर हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले हत्याको आरोपमा मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला न्यायाधिसको इजलाशले अभियोग दाबी नपुग्ने भनी आरोपितलाई सफाई दिएको छ ।
परिवारबाट बलात्कार
१६ वर्षीया बालिकालाई ०७९ बैसाख १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिका–७ सरोबोमका २९ वर्षीय काकालाई ०७९ असोज ८ गते गिरफ्तार गरेको थियो ।
पीडित पक्षले ०७९ बैशाख १७ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिए । इलाका प्रहरी कार्यालय मनहरीले आरोपितविरुद्ध ०७९ असोज २६ गते मकवानपुर जिल्ला अदालतमा हाडनाता करणी कसुरमा मुद्दा दर्ता गर्यो । जिल्ला न्यायाधिस श्रीप्रसाद सञ्जेलको इजलासले कात्तिक ३ गते आरोपिलाई पुर्पक्षका लागि थुनामा पठायो ।
१८ वर्षीया महिलालाई ०७८ चैत १८ गते बलात्कार गरेको आरोपमा ३२ वर्षीय जेठाजुविरुद्ध पीडितले चैत २१ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधिस कमलराज विष्टको इजलासले आरोपितलाई ०७९ बैशाख १६ गते आरोपितलाई पुर्पक्ष थुनामा पठायो ।
बलात्कार
३२ वर्षीया महिलालाई ०७८ चैत १ गते बलात्कार गरेको आरोपमा राक्सिराङ गाउँपालिका–८ खैराङ घरभई मनहरी गाउँपालिका–६ सुनाचुरी बस्ने ३२ वर्षीय कृष्ण भन्ने दुधराज बिसुरालविरुद्ध पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिए ।
आरोपितलाई प्रहरीले ०७९ जेठ २० गते गिरफ्तार गर्यो । पीडित महिलाको प्राथमिक स्वास्थ केन्द्र मनहरीमा स्वास्थ परिक्षण जेठ १९ गते भयो । प्रहरीले आरोपित विरुद्ध जेठ २४ गते मकवानपुर जिल्ला अदालतमा जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गर्यो ।
जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठको इजलासले ०७९ असार १४ गते पुर्पक्षका लागि थुनामा पठायो । ०७९ असोज ३० गते न्यायाधिस श्रीप्रसाद सञ्जेलको इजलासले मुद्दाको अभियोग दावी नपुग्ने भनी फैसला सुनाएको थियो ।
परिवारजनबाट हत्या
भारत मध्येप्रदेश जिल्ला भुपालथाना गोबिन्दपुरा घरभई बकैया गाउँपालिका–५ तिनतलेमा बस्ने २९ वर्षीया जिया उदासी हत्याको आरोपमा प्रहरीले ०७९ वैशाख १२ गते ३० वर्षीय पति गगन कुमार सोनीलाई गिरफ्तार गर्यो ।
आरोपितले ०७९ बैशाख ११ गते तिनतलेस्थित लालबहादुर स्याङ्बोको घरमा डेरामा पत्निको घाँटी थिची हत्या गरेको भनी पीडितपक्षले बैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।
शवको पोष्टमार्टम वैशाख १२ गते हेटौंडा अस्पतालमा भयो । जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठको इजलासले ०७९ जेठ १४ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।