असहमतिका बीच माओवादी बागमती संसदीय दलको नेतामा जम्मकट्टेल

हेटौंडा– असहमतिका बाबजुद नेकपा माओवादी केन्द्रले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको छ । दलको नेतामा पुनः शालिकराम जम्मकट्टेल चयन भएका छन् ।
माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप जम्मकट्टेलको नाम सर्वसम्मत पारित भएको हो । जम्मकट्टेल प्रदेशसभाको अघिल्लो कार्यकालमा पनि दलको नेता थिए ।
संसदीय दलमा जम्मकट्टेल र पौडेलको दाबी कायमै रहेका कारण माओवादीले नेता चयनका लागि संघर्ष गर्नु परेको थियो । अघिल्लो कार्यकालमा नेता चयनका लागि अप्ठेरो नपरेको माओवादीलाई हाल भने लामो कसरत गर्नुपरेको हो ।
शनिवार काठमाडौंमा भएको बैठकले विवादका बामजुद जम्मकट्टेललाई नेतामा चयन गरेको जनाइएको छ । दलको नेतामा पौडेलले दाबी छोडेका थिएनन् । उनले दलको नेता चयनका लागि मतदान प्रक्रियाबाट टुंग्याउनु पर्ने धारणा राखेका थिए ।
उनी पार्टीमा पनि मतदान प्रक्रियाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । तर, सबै प्रदेशमा सर्वसम्मतिले दलको नेता चयन भएको भन्दै पार्टी नेतृत्वले सहमतिको प्रयास खोजेको थियो । शुक्रबार बसेको बैठक पनि नेता चयनका लागि सहमति जुट्न नसकेपछि शनिवार १ बजे बस्ने गरी स्थगित भएको थियो ।
पौडेलले जम्मकट्टेललाई नेता बनाएकोमा असन्तुष्टि पोखेका छन् । उनले जम्मकट्टेल अघिल्लो कार्यकालमै दलको नेता भई पटक–पटक अवसर लिएकाले आफू दलको नेता हुनुपर्ने सांसदहरुसँग आन्तरिक रुपमा धारणा राख्दै आएका थिए ।
असन्तुष्ट बनेका पौडेलले सामाजिक सञ्जालमा खेल प्रतिस्पर्धाबाट जितिने भन्दै छिर्के लगाएर खेल जितिए पनि मन जित्न नसक्ने बताए । ‘म हरेकपटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ,’ पौडेलले लेखेका छन् । असहमतिको अवस्थामा जम्मकट्टेल दलको नेता चयन भएपछि पौडेल सम्पर्कबाहिर छन् । उनको मोबाइल स्वीचअफ छ ।
जम्मकट्टेल बागमतीको तत्कालीन नेकपा सरकार हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री र नेकपा फुटेपछि बनेको नयाँ गठबन्धनको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।
शुक्रबार भएको बैठकमा दलको नेताका लागि आकांक्षीहरु करिब ५ जनासम्म देखिएपछि सहमति जुट्न सकेको थिएन् । दलको नेतामा जम्मकट्टेल र पौडेलसहित युवराज दुलाल, राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले दाबी गरेका थिए ।
बागमतीमा नेपाली कांग्रेसले निर्वाचनबाट, नेकपा एमाले र राप्रपालगायतका दलले सर्वसम्मतिबाट दलको नेता चयन गरिसकेका छन् । नयाँ गठबन्धन बनेपछि बागमतीमा सरकारको नेतृत्व माओवादीले पाउने बारे चर्चा भइरहेको छ ।
पुरानै बाम–लोकतान्त्रिक गठबन्धन हुँदा बागमतीमा कांग्रेसको दाबी थियो । बागमतीमा हालको गठबन्धनका एमाले, माओवादी र राप्रपाले पनि दाबी गरिरहेको हो । राप्रपाको समर्थन नभई बागमतीमा सरकार बनाउन बहुमत पुग्दैन् ।
१ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । सत्ता गठबन्धनको एमाले, माओवादी र राप्रपासँग मात्रै ६१ सिट छ । एमालेसँग २७, माओवादीको २१ र राप्रपासँग १३ सिट छ ।