आजदेखि मौन अवधि, के–के गर्न पाइँदैन् ?

हेटौंडा– आज बिहीबार मध्यरात १२ बाट ४ गतेसम्मका लागि स्थिर समय (मौन अवधि) सुरु भएको छ । मंसिर ४ को निर्वाचनका लागि यो मौन अवधिमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन ।
निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागु हुन्छ । मौन अवधिलाई अहिले निर्वाचन आयोगले ‘स्थिर समय’ वा ‘शान्त समय’ भनेर परिभाषित गरेको छ । स्थिर समयमा सबै उम्मेदवारका घोषणा पत्र, विचार र विगत बारे मतदातालाई सोच्न दिने समय हो ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलको अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन प्रचार–प्रसारका कुनैपनि गतिविधि गर्न पाइँदैन । गयराती राती १२ बजेदेखि प्रचारप्रसारका सम्पूर्ण काम निषेध भएको छ । ‘हिजोसम्म राजनीतिक दल र उम्मेदवारले मतदाताहरूलाई घोषणापत्र घरघरमा गएर दिए । विचार र सिद्धान्त मतदातालाई सुनाए ।
निर्वाचनको ४८ घण्टा अघिकोे समय भनेको दल र दलले दिलाएको विश्वास र दिएको आश्वासन ठीक हो या गलत रु मतदातले छुट्याउने तथा शान्त भएर सोच्ने समय हो’, उनले भने, ‘अब उम्मेदवारहरुको बारेमा मतदाताले सोच्ने बेला हो ।’
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन र सम्बन्धित व्यक्तिका लागि आयोगले विशेष आचरण पालना गर्नुपर्ने निर्धारण गरेको छ । आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा धाँधली गरेको ठहर भएमा आयोगले उम्मेदवारीसम्म रद्व गर्ने छ ।
यस्ता गतिविधि गर्न पाइ“दैननिर्वाचनको स्थिर९मौन० समयमा निर्वाचन प्रचारप्रसारका लागि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने आचारसंहितामा उल्लेख छ । आचारसंहिता अनुसार स्थिरसमय सुरु हुनुभन्दा पहिले नै मतदान स्थलको तीन सय मिटर वरिपरी राखिएका राजनीतिक दल तथा उम्मेदवारका चुनाव प्रचारप्रसारका सामग्री हटाउनु पर्ने छ ।
कुनैपनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । सामाजिक सञ्जाल, अनलाइन, छापालगायत अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन । ती सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट तथा शेयर गर्न गराउन निषेध गरिएको छ ।
अनुगमनमा गोप्य टिम निर्वाचनको अन्तिम समयमा बढी चलखेल हुँदै आएको छ । यस्ता गतिविधि नियन्त्रणका लागि आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, केही गोप्य टिमहरू देशैभर खटाइएको निर्वाचन आयोगले जनाएको छ ।
मदिरा बिक्री वितरणमा रोकजिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचनको शान्तिसुरक्षाका लागि मदिराजन्य समाग्रीको बिक्री वितरणमा रोक लगाएकोछ । प्रशासन कार्यालयले सूचना सार्वजनिक गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थ पूर्ण रुपमा बन्द गरेको जनाएको हो ।
कार्यालयले बिहीबारराती १२ बजेदेखि मंसिर ५ गते दिउँसो १२ बजेसम्म जिल्लाभर मदिराजन्य पदार्थको प्रयोगमा बन्देज गर्ने उल्लेख गरेको छ । यस्तै, मत गणना हुने मतगणनास्थल सिद्धार्थ माविको ५ सय मिटर आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा सेवन पूर्ण रुपमा बन्द गर्ने भएको छ ।
यस्तै, निर्वाचनको दिन अनुमति प्राप्त सवारी साधन मात्र संचालन गर्न पाईने भएकोछ ।मंसिर ४ गते बिहान ५ बजदेखि मंसिर ५ गते बिहान ५ बजेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका सवारीसाधन संचालन गर्न नपाउने जिल्लाप्रशासन कार्यालय मकवानपुरले जनाएको छ । निर्वाचन आचारसंहिता विपरितका कार्य एवम् निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
उम्मेदवारी रद्वसम्म हुने सक्नेकुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेर निर्वाचनमा धाँधली गरे उम्मेदवारी रद्वसम्म हुने कानुनी व्यवस्था छ । यसरी उम्मेदवारी रद्व गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिइने छ ।
कानुन अनुसार आचारसंहिता उलंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी र निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न छन् । निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।
केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको पोखरेलले बताए । निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ ।
यो समयमा पालना गर्नुपर्ने नियमकाबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्वेश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न वा गराउन हुँदैन ।’
यो नियम उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने पोखरेलले बताए । स्थानीय निर्वाचन आचारसंहिता अनुगमन समितिलाई यो कसुरबारे कडाइका साथ अनुगमन गर्न आयोगले निर्देशन दिएको छ ।