हेटौंडाबाट शक्ति प्रदर्शन गर्दै थापा र श्रेष्ठले भने–‘मंसिर ४ ओली सरकार’

संवाददाता
मंसिर १, २०७९

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मुख्य सडकमा आज बिहीवार दिउसो नेकपा एमालेले शक्ति प्रर्दशन गरेको छ । यसअघिका दिनहरुमा वडा वडामा सभा र घरदैलो कार्यक्रममा व्यस्त भएको एमालेले आज हेटौंडा बजार क्षेत्रका केही वडाको संयुक्त र्याली निकालेको हो ।

नेकपा एमालेको हेटौंडा वडा नम्बर–२, ४, ५ र १० नम्बर वडाको संयुक्त र्याली निकालेर मुख्य बजार सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

हेटौंडाको बाइपास रोडचोकबाट सुरु भएको एमालेको र्यालीले मेनरोड, सिमाचोक, स्कुलरोड, संगमचोक, मकवानपुर उद्योग बाणिज्य संघ चोक, बुद्धचोक लगायतका क्षेत्रहरुमा र्याली निकालेर सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

सभामा नेकपा एमाले क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले सभालाई संबोधन गरेका छन् । उनीहरु दुवै जनाले ‘मंसिर ४ ओली सरकार’ भन्ने नारा जोडले लगाएका थिए ।

कार्यक्रममा एमालेबाट उम्मेदवार रहेका राप्रपा नेपाल अध्यक्ष थापाले अब एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । मंसिर ४ गतेको चुनावपछि अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने बताए । मकवानपुरमा र विशेष गरी क्षेत्र नम्बर–१ मा एमालेले धेरै विकास निर्माणका कामहरु गरेको र प्रदेश राजधानी तोक्ने काम पनि आफुहरुले गरेको उनको भनाई थियो ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार एकालाल श्रेष्ठले मकवानपुरमा ६ वटै उम्मेदवारले सहज रुपमा मंसिर ४ गतेको चुनावमा जित हासिल गर्ने बताएका छन् ।

अब प्रदेश र संघ एमालेको नेतृत्वमा सरकार बनेपछि एमालेले हेटौंडामा र जिल्लैभरी गरेका विकासका अधुरा कामहरुलाई पुरा गर्दै अरु विकास निर्माणका धेरै काम गर्ने बताए । कार्यक्रममा एमालेका संघ र प्रदेश स्तरका नेताहरुले कार्यक्रममा संबोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*