गठबन्धनको योजना लुट्ने र खाने मात्रैः पूर्वमुख्यमन्त्री पौडेल
हेटौंडा– नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनको अबको योजना देश लुट्ने र खाने मात्रै भएको आरोप लगाएका छन् ।
हेटौंडामा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले गठबन्धन सत्ता हत्याउने र जनताको भावनालाई कुल्चिएर लुट्न मात्रै बनाइएको बताए । गठबन्धनले जनताको भावनालाई काममा उतार्न नसक्नेमा आफू ढुक्क रहेको उनको भनाई छ । पौडेलले मुलुकको समृद्धिका लागि एमालेको विकल्प नभएको पनि बताए ।
हेटौंडालाई राजधानी बनाउनेदेखि मकवानपुरको समग्र विकासमा एमालेका विगतका स्थानीयदेखि प्रदेश सरकारले काम गरेको विषयमा जनता जगजाहेर रहेको उनले बताए । मकवानपुरको विकासमा कुन पार्टीको योगदान छ भनेर जनताले प्रष्ट बुझेको भन्दै गठबन्धनका नाममा जनतामा भ्रम फैलाउन खोजिएको उनको भनाई थियो ।
पौडेलले आगामी निर्वाचनमा गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेकोसमेत आरोप लगाए । आफ्नो पार्टीमा भोट हाल्न पाउने अधिकारलाई रोकेर गठबन्धनको नाममा उम्मेद्वारी नै नदिएको उनको भनाई थियो । हेटौंडा उपमहानगरपालिका–१४ मा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै नेकपा एमालेको सरकार बन्नु बाहेकको विकल्प नभएको समेत प्रष्ट पारे ।
बहुमत आउन सक्ने भन्दा कम क्षेत्रमा उम्मेद्वार खडा गरेर बहुमत ल्याउने सबै पार्टीले अस्तित्व गुमाएको पनि उनले बताए । बहुमत बन्ने हैसियतमा एमाले मात्र रहेको पौडेलको दाबी छ । बहुमत ल्याउन नसक्ने गरि उम्मेद्वार दिने पार्टीले देशको भलो गर्न नसक्ने भन्दै उनले भने, ‘गठबन्धनका मान्छे पुर्व जानुपर्ने पश्चिम जान्छन्, पश्चिम जाने पुर्व जान्छ्न, यस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन्,’
सडक, स्वास्थ्य, शिक्षालगायतका धेरै विकासका काम गरेको र अझै पनि गर्न बाँकी रहेकोले एमालेले मत पाउने उनको भनाई थियो । विकास चाहने हो भने एमालेको सरकार बन्नुपर्ने भन्दै २० औं ३० औं वर्षदेखि नभएको विकास एमालेको पालामा भएको स्मरण पौडेलले गराएका छन् ।
एमाले सरकारले छोटै समयमा धेरै काम गरेपनि वर्तमान सरकार विदेशीको लागि कम्फर्टेवल सरकार बनाउन लागि परेको आरोप लगाए । गठबन्धनको सरकार बने ५ वर्ष पछाडि हँुदै यसको असर २० औं बर्ष सम्म रहनसक्ने तर्फ सचेत रहन उनले मतदाताहरुलाई आग्रह गरेका छन् । मयुरधाप औद्योगिक क्षेत्रको सुरुवात भएपछि १४ नम्बर वडावासीले प्रत्यक्ष लाभ लिने उनले बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्वार कमल थापा, प्रदेशसभा १ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठ, पार्टी प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सहसंयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायतका नेताहरुको आतिथ्यता थियो ।
यसैगरी मंगलबार नै एमालेका उम्मेद्वार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै कोणसभालाई सम्बोधन पनि गरेका छन् ।