मकवानपुरमा मतदानको दिन कुन सवारी चलाउने पाउने, कुन नपाउने ?
हेटौंडा– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानका लागि चल्न पाउने र नपाउने सवारीसाधनको टुंगो निर्वाचन आयोगले लगाएको छ ।
विगतका निर्वाचनमा मतदानका दिन सार्वजनिक सवारीसाधनलाई सञ्चालनमा रोक लगाउँदै आएको थियो । तर, आयोगले आगामी निर्वाचनमा भने सवारीसाधन चलाउन सकिने बारे राय दिएपनि जिल्लास्थित सुरक्षा समितिहरुले सवारीसाधन व्यवस्थापनमा कठिनाई हुने भनेपछि आयोग पछि हटेको थियो ।
मकवानपुरबाट पनि जिल्ला प्रशासन कार्यालयले सवारीसाधन सञ्चालन गर्न दिन नसकिने बारे आयोगलाई पत्र लेखेको यसअघि पत्रकारहरुसँगको भेटमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी थिए । उनले निर्वाचनमा सुरक्षा निकायका अधिकांश जनशक्ति मतदान स्थल र मतदान केन्द्रहरुमा खटिने भएकाले सवारीसाधन व्यवस्थापन गर्न नसकिने पत्र आयोगलाई पठाएको बताएका थिए ।
निर्वाचन आयोगले संसदीय निर्वाचनको मतदानका दिन सवारीसाधन सञ्चालनमा सहजीकरण गरेको हो । सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्दै आयोगले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।
त्यसका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारीसाधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।
स्वीकृत मापदण्डबमोजिम मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरुको हकमा पासपोर्ट, भिषा र हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ भने अपांगता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारी साधनको प्रयोग गर्न सकिनेछ ।
अशक्तताको कारणले आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्नेछ ।
मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनलाई सञ्चालन गर्न दिइने आयोगले जनाएको छ ।
यसैगरी, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शव वाहन, अस्पतालमा कार्यरत् परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधनलाई पनि चल्न दिइने भएको छ ।
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधनका लागि अनुमति लिनु पर्दैन ।
तर त्यस्ता सवारी साधन मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन । मापदण्ड विपरीत सवारीसाधन प्रयोग गरेको अवस्थामा त्यस्ता सवारीसाधनलाई कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्ने आयोगले जानकारी दिएको छ ।