मुख्य निर्वाचन अधिकृत निरौला भन्छन्ः मकवानपुरमा स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव हुन्छ

हेटौंडा– मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले यस जिल्लामा मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष र भयरहित ढंगले सम्पन्न गराउनका लागि लागिपरेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाअन्र्तगतको फ्रि मिडिया नेटर्वकको आइतबार भएको बैठकमा बोल्दै उनले निर्वाचन अधिकृतको कार्यालय, प्रहरी, प्रशासन, पत्रकार सबै मिलेर निर्वाचनलाई निष्पक्ष र भयरहित ढंगले गराउनका लागि सहयोग आवश्यक रहेको बताए ।
सबैले आफ्ना क्षेत्रबाट निर्वाचन आचारसंहिताको पालना गरेर निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन लाग्नुपर्ने बताए। । आचार संहिता पालना गरे–नगरेको विषयमा उजुरी पर्ने बित्तिकै सचेत गराउने गरिएको उनको भनाई छ । यो चुनावमा कतैबाट पनि दवाव महशुस नभएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुले आचारसंहिता पालना गरिरहेको र पालना गराउनका लागि लागिपरेको बताएका छन् । निर्वाचन आयोगले यो चुनावमा मिडियालाई लिखित स्पष्टिकरण सोध्ने, समाचार हटाउन भन्ने जस्ता कार्य पत्रकार महासंघलाई स्वीकार्य नभएको बताए । चुनावका बेला पत्रकार र मिडिया पनि निस्पक्ष रुपमा काम गर्नुपर्ने सुझाब दिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले चुनावका दिनमा र मतगणना गर्ने दिनमा सकेसम्म पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्ने वातावरण तयार गर्ने बताएका छन् । सबैलाई कानून लाग्ने भएजस्तै पत्रकारलाई पनि कानून लाग्ने उनले बताए । सञ्चार क्षेत्रबाट निष्पक्ष रुपमा कलम चलाउनका लागि उनको आग्रह छ ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाई, हेटौंडा उपमहानगरपालिकाकी कार्यापालिका सदस्य इश्वरी रसाइली, गैरसरकारी संस्था महासंघका आरती पाठक, रमिला सापकोटालगायतकाको उपस्थिति थियो ।