हेटौंडाको उद्योगलाई सञ्चालन गरेर रोजगारी सिर्जना गर्छुः डीना

संवाददाता
कार्तिक २७, २०७९

हेटौंडा– सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदबार नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले हेटौंडामा रहेको उद्योग कलकारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरेर रोजगारीको सिर्जना गर्ने बताएकी छन् ।

मकवानपुरका महिला पत्रकारहरुसँगको छलफलमा डीनाले यस्तो बताएकी हुन् । उनले मकवानपुरमा बेरोजगारीको समस्या अन्त्य गर्नको लागि हेटौंडाको उद्योग कलकारखानालाई पूर्णरुपमा निरन्तर सञ्चालन गर्नुपर्ने बताइन् ।

डीनाले मकवानपुरबाट निर्वाचित भएर गएकाहरुले हेटौंडाको उद्योगहरुलाई निरन्तर सञ्चालन गर्नको लागि कुनै भूमिका निर्वाह नगरेको भन्दै आफूले त्यसको नेतृत्व गर्ने बताइन् ।

उनले जिल्लामा रुग्ण भएका उद्योगहरुको साथै नयाँ उद्योगहरु सञ्चालन गर्नको लागि आफूले पहल गर्ने बताइन् । डीनाले मकवानपुरको सबै महिलाहरुको भोट आफूलाई आउने दाबी गरिन् ।

डीनाले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीसँगै महिला र युवाहरुको मुद्दा आफ्नो प्राथमिकतामा रहेको सुनाइन् । उनले आफूले महिलाहरुको सशक्तीकरण र अधिकारको लागि विगतमा खेलेको भूमिकाको कारण मकवानपुरको सबै महिलाहरुले आफूलाई भोट दिने दाबी गरिन् ।

विगतमा महिला आन्दोलनको लागि संसद्मा लडेको स्मरण गर्दै डीनाले संविधानमा महिलाको अधिकार सुनिश्चित गर्न आफूले पार्टीभन्दा माथि उठेर काम गरेको हुँदा मकवानपुरका महिलाहरुले पार्टीभन्दा माथि उठेर भोट दिने बताइन् ।

उनले अन्य पार्टीको महिला नेताहरुले समेत आफूलाई नै भोट दिने ठोकुवा गरिन् । ‘मलाई जिल्लाको अन्य पार्टीको महिला नेताहरुले गठबन्धन नै गरौं पनि भन्नु भएको थियो ।

तर, त्यस्तो नभए पनि मेरो निर्वाचन क्षेत्रको सबै महिलाहरुले मलाई नै भोट दिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ’, उनले भनिन् । डीनाले आफ्नो क्षेत्रका अन्य उम्मेदबारहरु एक अर्काको मात्रै प्रतिष्पर्धी रहेको भन्दै आफूसँगको प्रतिष्पर्धामा कोही पनि नभएको बताइन् ।

समानुपातिक भनेको महिलाको लागि मात्रै हो भन्ने सोचाई परिवर्तन गर्दै काम गर्नको लागि जनतासँगको साक्षत्कारमा आएको बताइन् । ‘मैले समानुपातिकमा पाएको टिकट छोडेर आएको हो । महिला भन्ने बितिक्कै समानुपातिकमा नै बस्नुपर्छ भन्ने सोचाईलाई चिर्दै जनताको माझमा बसेर काम गर्नको लागि म आएको हुँ’, उनले भनिन् ।

डीनाले महिलाको निर्वाचन क्षेत्र हुँदैन भन्ने मानशिकता नेपालको राजनीतिको नेतृत्व तहमा रहेको भन्दै विगतमा आफू हार्छु भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचन लडेको स्मरण गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*