दशैंपछि पनि ठगिँदै छन् हेटौंडा–काठमाडौं चल्ने सुमोका यात्रु

संवाददाता
२०७९ आश्विन २७, बिहीबार १०:०२

हेटौंडा– हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गमा सञ्चालन हुने साना सवारी सुमोहरुबाट अझै पनि सोझा यात्रुहरु ठगिँदै आएको तथ्य बाहिरिएको छ ।

हेटौंडा नगरभित्र ट्राफिक व्यवस्थापनलाई समेत अस्तव्यस्त बनाउँदै सञ्चालन भइरहेका सुमो काउन्टरहरुबाट सोझासाझा यात्रु अझै ठगिने गरेको तथ्य बाहिरिएको हो ।

दशैं तिहार जस्ता चाडपर्वमा एकतर्फबाट मात्र यात्रु चाप बढ्ने हुँदा केही भाडा महँगो लिएर सञ्चालन गर्ने गरेको गुनासो यसअघि पनि आइरहेकै हो । तर, यसवर्षको दशैं सकिँदा पनि सुमोहरुले अझै पनि बढी भाडा लिइरहेको खुलेको हो ।

चाडपर्व बाहेकको समयमा यात्रुलाई राज्यबाट तोकिएको निश्चित भाडा लिएर हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने सुमोहरुले विगत जस्तै यसपालिको दशैंमा पनि मौकामा चौका हानेका छन् ।

दशैंमा यात्रुहरुको चापलाई सुमोहरुले कमाउ धन्दाको रुपमा मौका मारेका हुन् । दशैं अगाडि काठमाडौंबाट हेटौंडा आउने यात्रुहरु धेरै हुन्छन् । दशैंपछि हेटौंडाबाट काठमाडौं जाने यात्रुहरुको काउन्टरमा भिड लाग्छ ।

यात्रा नगरी नहुने बाध्यताको मौका छोप्दै सीमित सुमो सञ्चालक कम्पनीहरुले सोझा यात्रुहरुलाई ठगी गरिरहेको खुलेको हो । यात्रुहरुले बढी भाडा दिन नमाने सुमो लुकाएर सञ्चालकहरुले सवारी साधनको कृत्रिम अभाव सिर्जना गर्ने गरेको उपभोक्ताहरु बताउँछन् । जसका कारण यात्रुहरु बाध्य भएर बढी भाडा तिरेर गन्तव्यमा जानुपर्ने बाध्यता हुन्छ ।

दशैंपछिको समयमा हेटौंडाबाट काठमाडौं जाने यात्रुहरु अझै पनि बढी भाडा तिरेर काठमाडौं जानु परिरहेको पाइएको छ । मंगलबार हेटौंडाको शुभयात्रा कम्पनीको ना। १ ज ६४११ नम्बरसुमो जिल्ला ट्राफिक प्रहरीको फेलामा प¥यो ।

यात्रुहरुलाई तोकिएभन्दा बढी भाडा लिएको गुनासोको आधारमा मकवानपुरका ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापाले एक्सन लिएपछि उक्त सुमो चालक मनहरी–७ का रामप्रसाद खड्का नियन्त्रणमा आएका थिए । खड्कालाई जिल्ला ट्राफिकले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको थियो ।

दशैंकै बीचमा ७ वटा सुमोलाई यात्रुहरु ठगी गरेको आरोपमा कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । कारबाहीमा परेका सुमोहरुलाई यात्रुको भाडा फिर्ता गराउनेदेखि जरिवाना लिएर छाडिएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं लैजाने यात्रुलाई ७ सयदेखि एकहजार पाँचसय रुपैयाँसम्म भाडा लिएर ठगी गर्ने गरेको यात्रुहरुले प्रहरीसमक्ष गुनासो गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

हेटौंडा–काठमाडौंको भाडा साढे ६ सय रुपैयाँ तोकिए पनि सुमोले यात्रु हेरेर ठगी गर्ने गरेको पाइएको हो ।मंगलबार प्रहरीले नियन्त्रणमा लिएको सुमोले नै तीन जना यात्रुसँग फरक–फरक भाडा लिएको खुलेको हो ।

सोझा यात्रु भेटे १ हजार देखि १ हजार ५ सय रुपैयाँसम्म भाडा लिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यात्रु ठगी गर्ने दोषिलाई भने प्रहरीले पर्याप्त कारबाही गरेको देखिँदैन् । यात्रुहरुलाई निरन्तर ठगी गरेपनि प्रहरीले जरिवानासम्म मात्रै तिराएर पठाउने गरेको छ ।

जरिवानामात्रै तिराउँदा सुमो सञ्चालकहरुले यात्रुहरुलाई पटक–पटक ठगी गर्दै जरिवाना तिर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुल्छ ।यात्रुकै कारण प्रहरीले पनि तनाव खेप्नु परेको देखिएको छ ।

यात्रुहरुले नै सुमोलाई जोगाउन सत्य कुरा बोल्न नचाहने र प्रमाणसहित लिखित उजुरी दिन नमान्ने गरेको प्रहरी स्रोत बताउँछ । यात्रुहरुले पर्याप्त प्रमाण नदिँदा प्रहरीलाई दोषिलाई कडा कारबाही गर्न अप्ठेरो परेको देखिन्छ ।

‘बढी पैसा लियो भनेर मौखिक गुनासो गर्छन् । लिखित उजुरी दिँदैनन् । लिखित उजुरी नदिएसम्म मुद्दा चलाउन मिल्दैन् । त्यसैले सामान्य कारबाही गरेर छोड्नु परेको छ । यात्रुहरुले सहयोग नगर्दा तनाव हामीलाई हुन्छ’, ट्राफिक प्रहरी स्रोतले भन्यो ।

दशैंको घटस्थापनादेखि यात्रु ठग्न थालेका सुमोहरुले मकवानपुर प्रशासनको मौनताको फाइदा उठाउँदै दशैं सकिँदासम्म पनि ठगी गर्न नछोडेका हुन् ।

नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय कानमा तेल हालेर बस्दा यात्रुहरु दैनिक ठगिन बाध्य भएको गुनासो बढिरहेको छ । सुमोको कृत्रिम अभाव सृजना गरेर १ हजार ५ सय रुपैयाँसम्म भाडा लिँदा पनि प्रशासनले गम्भीर रुपले कारबाही नगरेको देखिएको छ ।

प्रशासनले प्रभावकारीरुपमा सुमोले यात्रु ठगेको विषयमा अनुगमन र कारबाही गरेको छैन । ठगिएको विषयमा आफूलाई जानकारी नभएको र प्रमाणसहित उजुरी गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरे ।

दशैंपछि काठमाडौंबाट हेटौंडा आउने यात्रुको चाप पातलो हुने गरेपनि सुमोको कृत्रिम अभाव सृजना गरेर ठगी गरेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले गुनासो गरिन् ।

सुमोले काठमाडौंबाट हेटौंडा आउँदा १ हजार तीनसय रुपैयाँ लिएको उनले बताइन् । यात्रुलाई टिकट भने तोकिएको भाडाकै थमाउने गरिएको छ । कतिपय सुमोले यात्रुहरुलाई टिकटसमेत नदिने गरेको यात्रुहरुले गुनासो गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*