बागमतीका बहालवाला नौ मन्त्री फेरि उम्मेदवार

संवाददाता
अशोज २७, २०७९

हेटौंडा– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागमती प्रदेश सरकारका ९ जना बहालवाला मन्त्री उम्मेदवार बनेका छन् ।

२०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचन लडेका मकवानपुरकी कुमारी मोक्तानसहितका ९ जना मन्त्रीहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका हुन् ।

उम्मेदवार बन्नेहरुमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का अधिकांश छन् । बागमतीमा राज्यमन्त्रीसमेत गरेर कुल १८ जना मन्त्री छन् । जसमध्ये ९ जना निर्वाचन नलड्ने भएका छन् । अधिकांशले गठबन्धनका कारण उम्मेदवार हुन नपाएका हुन् ।

बागमती प्रदेशका वर्तमान तथा तेस्रो मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । विगतमै केन्द्रीय मन्त्रीसमेत भइरहेका पाण्डे बागमतीको प्रथम मुख्यमन्त्री हुने चाहनाले २०७४ मा धादिङबाट प्रदेशसभा निर्वाचन लडेका थिए । तर, पार्टीभित्रको गुटको खेलका कारण पाण्डे पहिलो मुख्यमन्त्री हुनबाट रोकिए ।

अन्ततः पाण्डे प्रदेश सरकारको अन्तिम कार्यकालको अर्थात बागमतीको तेस्रो मुख्यमन्त्री बने । उनै पाण्डे सत्ता गठबन्धनबाट संघीय संसदका लागि धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका हुन् ।

माओवादी केन्द्रबाट प्रदेशको मन्त्री बनेका ५ जना मध्ये ४ जना आगामी निर्वाचनका लागि उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल धादिङ–१ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

उनी तत्कालीन नेकपा सरकार हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । प्रदेशसभामा माओवादीका शिर्ष प्रदेशसभा सदस्यभित्र पर्ने जम्कट्टेल पुनः मन्त्री हुने चाहनाले प्रदेश निर्वाचन लड्दै छन् । प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि प्रदेशसभा सदस्यका लागि मओवादी केन्द्रबाट मकवानपुर–२ ९क० मा उम्मेदवार बनेकी छन् ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल माओवादी केन्द्रबाट प्रदेशसभामा काभ्रे–१ (क)मा उम्मेदवार बनेका छन् । श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल माओवादी केन्द्रबाट प्रदेशसभाका लागि चितवन–२ (क)मा उम्मेदवार बनेका छन् ।

उनीहरु सबै सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् । एकीकृत समाजवादीबाट मन्त्री बनेका ५ जनामध्ये ४ जना फेरि उम्मेदवार बनेका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीबाट सत्ता गठबन्धनको समर्थनमा चितवन–१ (ख) बाट उम्मेदवार बनेका छन् । प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बसन्त प्रसाद मानन्धर पनि एकीकृत समाजवादीबाट सत्तारुढ गठबन्धनको सहयोगमा काठमाडौं–७ (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादीबाट प्रदेशको मन्त्री बनेका प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईले गठबन्धनबाट अलग भएर प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीका तर्फबाट काभ्रे–२ (ख)मा उम्मेदवारी दिएका छन् ।

प्रदेश सरकारमा सबैभन्दा धेरै मन्त्री रहेको कांग्रेसले आगामी निर्वाचनमा भने थोरैलाई मात्र उम्मेदवार बनाएको छ । कांग्रेसका ८ जना मन्त्रीमध्ये ७ जना उम्मेदवार बन्न सकेनन् ।

कांग्रेसबाट मन्त्री बनेका प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ आगामी निर्वाचनमा प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ (क)मा उम्मेदवार बनेका छन् । उनी प्रदेश मन्त्रीमध्ये कांग्रेसबाट टिकट पाउने एकमात्र व्यक्ति हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*