मकवानपुरमा ६ पदका लागि ६९ जनाको उम्मेदवारी
हेटौंडा– मकवानपुरको दुई वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २३ असोज आइतबार मनोनयन दर्ताको समय थियो ।
हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलदेखि स्वतन्त्रहरुले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ नम्बर क्षेत्रमा गरी २६ जनाले उम्मेदवारी दिएका छन् ।
हेटौंडाको १५ वटा वडा, बागमती गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढीको ४ वटा वडा रहेको १ नम्बर क्षेत्रमा १६ जनाले उम्मेदवारी दिएका छन् ।
हेटौंडाको ४ वटा वडा, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा रहेको २ नम्बर क्षेत्रमा १० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह, हाम्रो नेपाली पार्टीका दिपेन्द्र सिंह ठकुरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराम थापालगायतले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेबाट बागमती प्रदेश कमिटीका उपसचिव महेशकुमार बर्तौला, गठबन्धनबाट नेकपा ९एकिकृत समाजवादी०का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री विरोध खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली, राप्रपाका राजन मैनालीलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।
मकवानपुरमा ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ (क) बाट सत्ता गठबन्धनबाट प्रेमबहादुर पुलामी, एमालेबाट कमल बहादुर विष्ट, राप्रपाबाट सागर थापा, जनता समाजवादी पार्टीबाट मेजर मान मोक्तानले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभातर्फ १ (ख)मा सत्ता गठबन्धनबाट कांग्रेसका आनन्दराम पौडेल, एमालेबाट एकालाल श्रेष्ठ, राप्रपाबाट गुञ्जनबहादुर न्यौपाने, जनता समाजवादी पार्टीबाट दीपक सिन्तानले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) का लागि सत्ता गठबन्त्रधनबाट माओवादी केन्द्रकी कुमारी मोक्तान, एमालेबाट विष्णु प्रसाद ढकाल, राप्रपाबाट राम बहादुर घलेले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर–२ (ख)का लागि सत्ता गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बानियाँ, राप्रपाबाट बद्रिबहादुर खड्का, एमालेबाट लालबहादुर थापा, जनता समाजवादी पार्टीबाट पुंगनाथ तिमल्सिनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।