साँघुरो सडकमा जर्वजस्ती बस, प्रहरी रमिते बन्दा ७ जनाको मृत्यु

संवाददाता
अशोज ७, २०७९

हेटौंडा– हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीअन्तर्गत् भीमेफेदी–कुलेखानी सडक खण्डमा मिनि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार समाचार तयार पार्दासम्म घाइते २५ जनामध्ये ७ जनाको मृत्यु भएको हो ।

बिहीवार साढे दुई बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६, स्थित जरिखेतमाथि दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमै पुगेका प्रहरी प्रमुख गौतमले साँघुरो सडकका कारण बस दुर्घटना भएको साझाकुरालाई जानकारी दिए । ओरालो लागिरहेको बस माथिल्लो मोडमा फलामे बार भत्काएर तल्लो मोडमा झरेको थियो ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि हेटौंडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको एपसी गौतमले जानकारी दिए । मृतकमध्ये दुई जनाको मात्रै सनाखत हुन सकेको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल रौतहटमा सुरक्षाकर्मीका रुपमा कार्यरत् ३४ वर्षका रघुराज न्यौपाने र बाराका ३३ वर्षीया अन्जुला मिया ठकुराई रहेका छन् ।

बाँकी मृतकको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुले राम्रोसँग बोल्न नसकेकाले सनाखत हुन ढिलाई भएको प्रहरीले जनाएको छ ।

बसमा सवार अधिकांश बारा, पर्सा, रौतहट र भारतका छन् । बसरमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त बस छोटोमार्ग हुँदै बीरगञ्ज जान पहिलो पटक आएको खुलेको छ ।

छोटोमार्गमा चार पाङ्गे सवारीसाधनसमेत जोखिमको यात्रा गरिरहेका बेला ठूला बस आउँदा दुर्घटना हुन पुगेको हो । साँघुरो सडक र छोटा मोडका कारण ठूला बस सञ्चालनका लागि छोटोमार्ग अनुपयुक्त हो । तर, काभ्रे जिल्लामा रुट परमिट भएको बस मकवानपुर हुँदै बीरगञ्जका लागि हिँड्दा पनि प्रहरीले कुनै चासो नदिँदा ७ जनाले ज्यान गुमाउ परेको छ ।

काठमाडौंदेखि जुरिखेतसम्म आइपुग्दा करिब आधा दर्जन प्रहरी चौकी पार गर्नुपर्ने हुन्छ । तर, काभ्रेमा स्थानीय रुटमा चल्ने बसले ३२ जना बोकेर आउँदा पनि प्रहरीले कुनै चासो नदिएको पाइएको छ । कानुनतः रुट परमिट नभएको क्षेत्रमा बस सञ्चालन गर्न पाईंदैन् ।

उक्त रुट परमिट नभएका बसहरु हिँड्ने भएकाले सडक क्षेत्रमा चेकिङका लागि राखिएका प्रहरी चेक पोष्ट नाम मात्रैको हुँदा बिहीवार ठूलो दुर्घटना हुन पुगेको सरोकारवालाहरुले बताएका छन् । प्रहरीले रुट परमिट नै नभएको बसलाई सञ्चालनमा रोक लगाउन वा साँघुरा सडक प्रयोग गर्न नदिई वैकल्पिक मार्गको बारेमा सचेत गराएको अवस्थामा दुर्घटना हुनबाट जोगिने थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*