बढ्दै आत्महत्यका घटनाः बागमती प्रदेशमा २ हजार ८ सयले प्राण त्यागे
हेटौंडा– पछिल्लो तीन वर्षमा बागमती प्रदेशमा दुई हजार ८ सय ७३ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शनिबार स्वास्थ्य निर्देशनालय कार्यालयले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दीपक रेग्मीले प्रदेशमा आत्महत्याको अवस्थाको विषयमा प्रस्तुतीकरण गर्दै तीन वर्षमा दुई हजार ८ सय ७३ जनाले आत्महत्या गरेको जानकारी दिए ।
रेग्मीको अनुसार प्रदेशमा २०७६÷०७७ सालमा नौसय ३५ जना, २०७७÷०७८ मा एकहजार ३६ जना र आव २०७८÷०७९ मा नौसय २ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा उपत्यकाबाहेक सबैभन्दा धेरै आत्महत्याको घटना चितवनको भएको रेग्मीको प्रस्तुतीकरणमा उल्लेख छ ।
गएको तीन वर्षमा प्रदेशभरिमा भएको आत्महत्याको घटना चितवनमा २१ प्रतिशत, मकवानपुर र काभ्रेमा १४ प्रतिशत, धादिङमा १२ प्रतिशत, सिन्धुपाल्चोकमा ११ प्रतिशत, सिन्धुली र नुवाकोटमा ८ प्रतिशत, दोलखामा ६ प्रतिशत, रामेछापमा ५ प्रतिशत र सबैभन्दा कम रसुवामा १ प्रतिशत रहेको उनको भनाइ छ ।
मकवानपुरमा आव २०७६÷७७ मा विष खाएर ६० जना, झुण्डिएर ८६ जना, आव २०७७÷७८ मा विष खाएर ४८ जना, झुण्डिएर ९२ जना र पानीमा हामफालेर १ जनाले आत्महत्या गरेको बताए ।
त्यस्तैगरी उनले आव २०७८÷०७९ मा विष खाएर ३२ जना, झुण्डिएर ९० जना र पानीमा हामफालेर २ जनाले आत्महत्या गरेको बताए ।
उनले मानसिक रोग र दीर्घरोग, एक्कासी पर्ने तनाव, चरम निराशा, गरिबी, कष्टदायिक पारिवारिक जीवन, अवैध गर्भ, पारिवारिक बेमेल, घरेलु हिंसा, दाइजो प्रथा, प्रेममा धोका, परिवारबाट तिरस्कृत, असफलता जस्ता विभिन्न कारणले मानिसहरु आत्महत्या गर्ने गरेको पाइएको बताए ।
स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ट, कोसिस संस्थाका थमकुमारी कुँवर, स्वास्थ्य मन्त्रालयका डा. रविन भुषाल, स्वास्थ्य निर्देशनालयका पदमराज कैनी, प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।