मेयर लामा भन्छिन्, ‘चुनावमा कसैको पैसा लिइनँ, खर्च पनि मागिनँ’
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाकी मेयर आइतबार साँझदेखि चर्चामा आएकी छन् । काठमाडौंमा भएको एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण लामाको चर्चा चुलिएको छ ।
आइतबार अपरान्ह कान्तिपुर मिडिया ग्रुपद्वारा काठमाडौंमा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको ‘नेतृत्वमा महिला अब पहिला’ कार्यक्रममा हेटौंडाकी मेयर लामासहित, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, झापाको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशी, नुवाकोटको बिदूर नगरपालिकाकी उपमेयर प्रभा बोगटी सहभागी थिए ।
मञ्चमा यी चार महिला जनप्रतिनिधि बहसका लागि थिए भने दर्शक दीर्घामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि थुप्रै राजनीतिज्ञ, विद्यार्थीहरु थिए ।
कार्यक्रम सञ्चालक प्रकृति भट्टराईले हेटौंडाकी मेयर लामालाई आफ्नै निश्चित आयस्रोत नहुँदासमेत चुनावमा लागि राखेको पाइएको भन्दै खर्च जाहो गर्न र आर्थिक सहयोग आउँछ कि आउँदैन भनेर प्रश्न सोधेकी थिइन् ।
लामाले चुनावी प्रतिस्पर्धामा जसलाई पनि जित्नु पर्ने भन्दै महिलाहरुका लागि पनि सबै कुरा प्रयोग गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको सुनाएकी थिइन् । अघिल्लो निर्वाचनमा आफू उपमेयर जित्दा थोरै खर्चमै टारेको सुनाएकी थिइन् ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उपमेयर हुँदा आर्थिकरुपमा कमजोर रहेको अवस्थामा मेयर लड्नुअघि परिवारसँग छलफल गरेको बताइन् ।
‘मैले छोरासँग आफूसँग भएको थोरै पैसा चाहिन्छ कि म अगाडि बढेको हेर्न चाहन्छौं भनेर सोधेको थिएँ । तपाई अगाडि बढ्नुपर्छ तपाई मेयर भएको देखेपछि अरु महिलाहरुलाई पनि अगाडि बढ्न साहस हुन्छ भनेर उसले भन्यो’, लामा यति भन्दा हलमा ताली बज्यो ।
छोराले आर्थिकरुपमा सहयोग गरेपछि आफूलाई चुनाव लड्न हौसला मिलेको उनले व्यक्त गरेकी छन् ।
श्रीमानसँग छलफल गर्दासमेत नगर प्रमुख चलाउन सक्ने भए आर्थिक चिन्ता नलिनू भन्ने जवाफले आफूलाई खुशी तुल्याएको उनको भनाइ छ । हेटौंडाको मेयरमा निर्वाचन हुँदा थोरै खर्च गरेको उनले बताइन् । आफूलाई निर्वाचनमा आर्थिक सहयोगसमेत कसैले नगरेको उनको भनाइ थियो ।
आर्थिक अभावले महिलालाई चुनाव लड्न समस्या हुन्छ कि भन्ने परे पनि हेटौंडाको मेयर जित्ने क्रममा अत्यधिक पैसा खर्च गर्न नपरेको उनले बताइन् ।
आफूलाई कसैले पनि निर्वाचन लड्न पैसा नदिएको र आफू पनि कसैकोमा निर्वाचनका लागि खर्च माग्न नगएको बताइन् । मतदातामा भने पैसा नभए जित्न सकिन्नँ कि भन्ने भान परेको उनले सुनाइन् ।
‘निर्वाचनको दुई दिनअघि महिलाहरुको हुलमा थिएँ । एक जनाले दिदी तपाई निर्वाचन हार्नुहुन्छ भन्नुभयो । मैले कसरी भनेर सोधेँ, उहाँले तपाईले पैसा खर्च गरेको छैन । तपाईलाई पैसा कसैले दिएको छैन रहेछ, त्योमाथि तपाई महिला पर्नुभयो भन्नुभयो । ठिकै छ, म महिला भएकै कारण चुनाव हार्नुपर्छ भने मुलुकमा अझै महिला आन्दोलन सकिएको रहेनछ भनेर बुझौंला भनेँ’, लामाले यसो भनिरहँदा हलमा ताली गुञ्जियो ।
लामाले कार्यक्रममा महिलाहरुले निर्वाचनमा भोगेका समस्या, पुरुषहरुबाट पाएको असहयोग, अगाडि बढ्न आइपरेका बाधा अड्चन जस्ता विषयलाई पन्छाएको सुनाउँदा धेरैले ताली पिटेका थिए । निर्वाचनमा आफूलाई बौद्धिक वर्गका केही पुरुषहरुले भेटेर मीना तपाईंले चुनाव जित्नुपर्छ भनेको सुनाइन् ।
‘उहाँहरुले तपाईंले चुनाव जिते मेरो छोरी, श्रीमतीको मनोबल बढ्छ । मेरो आमाले मलाई सिकाइरहनुभएको छ, मीनालाई चुनाव जिताउनुपर्छ भनेर । त्यो सुनेपछि मैले गौरब गरेँ’, मेयर लामाले भनिन् । लामाले यसो भनिरहँदा दर्शकदीर्घामा रहेकी हिसिला यमीले प्रसन्न मुद्रामा ताली पिटेकी थिइन् । लामाका यी भनाइले पुरुषभन्दा पनि महिलाको प्रगतिमा महिला नै बाधक बन्ने गरेको बुझ्न सकिन्थ्यो ।
मेयर लामाले महिलालाई नेता मान्ने र विश्वास गर्ने वातावरण बनिरहेको बताइन् । महिलाले निर्वाचनमा जीत हासिल गर्छन् भन्ने विश्वास राजनीतिक नेतृत्व र जितेपछि राम्रो काम गर्छ भन्ने प्रभाव मतदातामा परेको आफूलाई अनुभूति भएको उनको भनाइ थियो ।
‘अहिले पनि महिलालाई नेतृत्वमा ल्याउनबाट पछि हट्यो भने समाज अगाडि बढ्न सक्दैन भन्ने आभाष राजनीतिक नेतृत्व र जनतामा परेको छ’, उनले भनिन् । नेताका रुपमा महिलाहरुप्रति विश्वास बढेर नै आफूले हेटौंडाको मेयरमा बिजयी हुन सकेको बताइन् ।
महिलालाई नेता मान्न सकेनौं र अविश्वास गरिरहँदा अगाडि बढ्न नसकिने धारणा लामाले राखिन् । परिवारलाई विश्वासमा नलिएसम्म सफल नेता बन्न नसकिने बताउँदै मेयर लामाले सबैभन्दा बढी महिलाले परिवार बनाउनुपर्ने बताएकी छन् । ‘जबसम्म परिवारलाई विश्वास दिलाउन सकिँदैन, हाम्रो नेतृत्व सफल हुँदैन । सबै महिलाले डिग्री नै हासिल गर्नुपर्छ भन्ने छैन ।
अध्ययनशील पनि हुनुपर्छ । समसामयिक विषयमा के कुरा भइरहेका छन् भन्ने जान्नुपर्छ । आफ्नो बस्ने संस्थाको संरचना, नीति, विधान, कार्यक्रमले के भन्छ र त्यसमा मेरो कुरा के हो भन्नेबारे सचेत पनि हुनुपर्छ । म गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ’, उनले भनिन् ।
एक्लै कहिले पनि नेता हुन नसक्ने भन्दै लामाले नेतृत्वले नेतृत्व जन्माउन सक्यो कि सकेन भन्ने विषय महत्वपूर्ण रहेको बताइन् । महिला र पुरुष सबैलाई साथमा लिएर साझा नेतृत्वको अवधारणा बनाउनु पर्नेमा उनको जोड थियो ।