हेटौंडामा रुट परमिट नभएका अटोलाई सञ्चालनमा रोक

संवाददाता
साउन १८, २०७९

हेटौंडा– अव्यवस्थित पार्किङले अस्तव्यस्त बनेको हेटौंडा उपमहानगरपालिकाले अटो, मयुरीलगायत तीन पांग्रे सवारी सञ्चालनमा कडा नीति लिएको छ ।

हेटौंडा बजारमा देखिएको सवारीसाधनको चापको व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीन पांग्रे सवारीसाधनलाई व्यवस्थित गर्ने भएको हो । तीन पांग्रेअन्तर्गत् हेटौंडामा अटो, मयुरी छ्यापछ्याप्ती छन् ।

उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले तीन पांग्रेस सवारी सञ्चालनका सम्बन्धमा नयाँ निर्णय गरेको छ ।

उक्त निर्णयको प्रमुख उद्देश्य हेटौंडाको सडक क्षमता भन्दा बढी सञ्चालनमा रहेका अटो र मयुरी नियन्त्रण गर्नु हो । उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त तीन पांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गर्न लागेको हो ।

नगरका प्रवक्ता तथा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार स्टिकर हरियो हुन्छ । उक्त हरियो स्टिकर हेटौंडा उपमहानगरभित्र सञ्चालन अनुमति पाएका अटो र मयुरीमा टाँ गरिने छ ।

हरियो स्टिकर भएका अटोमात्रै अब नगरका मुख्यदेखि भित्री सडकमा सञ्चालन हुन पाउने छन् ।नगरभित्र सञ्चालन अनुमति नलिएका अटो तथा मयुरीहरु अब मुख्य सडकमा आउन नपाउने भएका छन् ।

हेटौंडाभित्र हाल असीमित संख्यामा अटो र मयुरी सञ्चालनमा छन् । इलेक्ट्रिक मयुरी भन्दापनि पेट्रोलबाट चल्ने तीन पांग्रे अटो धेरै छन् । तर, सरकारीदेखि कुनै निकायसँग पनि नगरभित्र हाल सञ्चालनमा रहेका अटो र मयुरीको यनिक तथ्यांक छैन् ।

यसर्थ, नगरमा सडक क्षमता भन्दापनि बढी अटो र मयुरी सञ्चालन भइरहँदा यहाँका सडकमा दुर्घटनाको जोखिमसँगै पार्किङ व्यवस्थापनमा चुनौती भइरहेको छ ।

उपमहानगरको सोमबार बसेको कार्यपालिका बैठकले उपमहानगरभित्र सञ्चालनको लागि परमिट प्राप्त तीन पांग्रे सवारी साधनलाई नगरभित्र सञ्चालन अनुमतिको स्टिकर प्रदान गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गत असार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँगको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले यस्तो निर्णय गरेको हो ।

२०७६ साल पुसको ७ गतेको बैठकबाट हेटौंडा उपमहानगर क्षेत्रमा थप तीन पांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरिएको थियो । उक्त समयपछि जिल्लास्थित विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति ९परमिट० लिएर हेटौंडा बजार क्षेत्रमा अनधिकृत रुपमा सञ्चालन भइरहेका तीन पांग्रे सवारीसाधनलाई निषेध गर्ने गरी यो निर्णय गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

‘स्टिकर प्रदान गरेसँगै अब हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएका तीन पांग्रे सवारीसाधनबाहेक अन्यलाई सञ्चालनमा रोक लगाइनेछ ।,’ न्यौपानेले भने ।

हेटौंडा उपमहानगरलाई तीन पांग्रे सवारीसाधन व्यवस्थापनमा भने सहज छैन् । विगतमा निर्णय भइसकेर पनि कार्यान्वयनमा आउन नसकेको कार्यलाई उपमहानगरले पुनः कार्यान्वयन गर्ने गरी कदम अगाडि बढाएको छ ।

निवर्तमान मेयर हरिबहादुर महतको पालामा पनि अटो व्यवस्थापन गर्ने तरी निर्णय भएको थियो ।तर, विविध कारणले उक्त निर्णय कार्यान्वयनमा आउन सकेन् । वर्तमान मेयर लामा, उपमेयर बानियाँलगायतलाई हालको निर्णय कार्यान्वयन गर्न टाउको दुखाई हुने देखिन्छ ।

विगतमा निश्चित पार्किङ क्षेत्र बनाएरपनि उपमहानगरले दिगो व्यवस्थापन गर्न नसक्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन् । नगरभित्र पार्किङ क्षेत्र निर्धारण गर्न जग्गा अभावकोे समस्यादेखि अटो, मयुरी, साना गाडि, मोटरसाइकलसम्मको अटेरीले निर्णय कार्यान्वयन गर्न उपमहानगरलाई चुनौती छ ।

हेटौंडाको बीच बजारबाट दुईवटा राष्ट्रिय राजमार्ग पर्ने भएकाले वर्षौदेखि साँघुरा सडक समस्या बन्दै आएका छन् । पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ बजारको मुख्य सडकमै पर्छन । पूर्व–पश्चिमको सवारीचापलाई व्यवस्थापन गर्न बाइपासबाट मालबाहलक सवारीसाधन पठाइने गरिएको छ । तर, बजारका सडक साँधुरा हुँदा यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

हेटौंडाको साँघुरो सडक फराकिलो बनाएर सहज यातायात सञ्चालन गर्न बागमतीका प्रदेश सांसदहरुले आवाज उठाएपनि तत्कालिन डोरमणि पौडेल नेतृत्वको सरकारले बाइपास सडक निर्माण गर्ने निर्णय गरेर काम गरेको थियो । उक्त बाइपास सडकसमेत सञ्चालनमा आउन सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*