‘हेटौंडा अस्पतालमा धेरै सुधार गरेका छौं, हामीलाई बुझेनन्’
हेटौंडा– हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले अस्पतालको उपचार सेवामा व्यापक सुधारका काम भएपनि कसैले बुझ्न नसकेको गुनासो गरेका छन् ।
५० बेडको अस्पतालमा धेरै सेवा सुविधा र बिरामीको उपचारमा सुधार गरेपनि सर्वसाधारणबाटै बुझ्ने काम नभएको गुनासो गरेका हुन् । हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीको चाप बढेर व्यवस्थापन अस्तव्यस्त बनिरहेको विषयमा सर्वसाधारणले अस्पताल प्रशासनमाथि प्रश्न उठाउँदै आएका छन् ।
तर, अस्पताल प्रशासनले बिरामीको चाप अत्याधिक बढेकाले व्यवस्थापनमा कठिनाई भएको तर, बिरामीको उपचारमा भएको सुधारमा कसैले ध्यान नदिएको जनाइएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दैै मेसु डा. सापकोटाले विगतमा भन्दा अस्पतालमा धेरै सुधारका काम भएको बताउँदै केही साना कमजोरीलाई ठूलो मुद्दा बनाइएको प्रति चिन्ता व्यक्त गरे ।
सोमबार सर्वसाधारणहरुले अस्पताल परिसरमा धर्ना कसेर चिकित्सकहरुमाथि गलत व्यवहार भएको भन्दै प्रशासनले भत्र्सनासमेत गरेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले चिकित्सहरु अस्पताल समय छोडेर कतै मेडिकलमा नगएको बताएका छन् ।
धर्नामा बस्नेहरुले चिकित्सकहरुलाई अस्पताल समयमा मेडिकल गएको आरोप लगाएको भन्दै कोही चिकित्सक मेडिकल गएको प्रमाण ल्याए कारबाही गर्ने चेतावनी उनले दिए ।
अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण बिरामीहरुले उपचारमा कठिनाई भोग्दै आएको भन्दै सोमबार सर्वसाधारणहरुले अस्पतालमा धर्ना कसेका थिए ।
उपचारका लागि आएका बिरामीले धेरै दुःख पाउने गरेको, गर्मीमा बिरामीहरु तातो जस्तामुनी घण्टौं लाइन बसेर ओपिडीको टिकट काट्नेदेखि औषधि लिनु पर्ने बाध्यता रहेको, बिरामीहरुले भिडियो एक्सरे गर्न नपाएकोलगायतका गुनासो राखेका थिए ।
धर्नामा सहभागीहरुले चिकित्सकहरुलाई पहिलो र अन्तिम सुझाव भएको भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।
अस्पताल व्यवस्थापन पक्षले कमिकमजोरी भएको खण्डमा सुधार्ने र सेवालाई चासो दिँदै बिरामीलाई सुविधाका साथ सेवा गर्ने प्रतिवद्धता मेसु डा. सापकोटाले गरे ।
मेसु सापकोटाले कर्मचारीको अभाव र आवश्यक प्रविधि नभएकोले अस्पतालमा उपचार गराउन समस्या भएको बताएका छन् । ५० वेडको स्विकृति प्राप्त अस्पतालमा १ सय १० बेडको सेवा प्रदान गरिरहेको उनको दावी छ ।
उनले अस्पतालमा गुणस्तरीय सेवा बढाएकाले बिरामीको चाप बढेकोतर्फ ध्यान दिन आग्रह गरे । ६\७ वर्षअघि केही डाक्टरहरुको मात्रै सेवा पाईरहेका मकवानपुरबासीले हाल २५ जना डाक्टरहरुबाट सेवा लिइरहेको उनको भनाई छ । सुधारका लागि काम गरिरहेकाले सबैले बुझ्दिनु पर्ने उनको भनाई छ ।