मकवानपुरका ४ महिलाको काँधमा पालिका र वडा हाँक्ने जिम्मेवारी
मकवानपुर– स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक पालिका र वडाको प्रमुखमा ४ जना महिला निर्वाचित भएका छन् ।
१० स्थानीय तह र १०२ वडा रहेको मकवानपुरमा जम्मा ४ जना महिलाले नेतृत्वको अवसर पाएका हुन् । जसमा एक महिलालाई हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर मिलेको छ भने ३ महिलालाई वडाको नेतृत्व गर्ने अवसर जुटेको छ ।
बागमती प्रदेशको एकैमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकामा मिना लामाले अबको ५ बर्ष नेतृत्व गर्नेछिन । उनले सत्ताधारी गठबन्धनको तर्फबाट मेयर पद जितेकी हुन् । हेटौंडाको पुर्व उपमेयर समेत रहेकी लामा नेकपा एकीकृत समाजवादी आवद्ध हुन् । अबको ५ बर्ष हेटौंडामा लामाले अभिभावकत्व गर्ने छिन् ।
यसैगरी हेटौंडाकै एउटा वडामा महिला नेतृले चुनाव जितेकी छिन् । हेटौंडाको वडा नम्बर ११ मा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेकी जुना दाहालले पनि अबको ५ बर्ष वडामा नेतृत्व गर्ने अवसर पाएकी हुन् ।
पुर्व वडा सदस्य समेत रहेकी दाहालले आफ्नो निर्वाचन क्षेत्रमा आगामी दिनमा दलको एजेन्डा भन्दा माथि उठेर स्थानीय सवालमा लागि पर्ने बताइन् । “बिगत ५ बर्षमा धेरै काम सिकेको छु, अब थप जिम्मेवारी प्राप्त भएको छ, कुसलतापुर्वक पुरा गर्ने छु” दाहालले भनिन् ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ र १० मा गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार बनेका कांग्रेसका २ नेतृ कमला वाईवा र लक्ष्मी जिम्बा विजयी भएर इतिहास रचेका छन् ।
वडाध्यक्ष निर्वाचित जिम्बा र वाईवा दुबै जना २०७४ सालको स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकामा क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए । तर दुबैले चुनाव हारेका थिए ।
गत निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी वाईवालाई पछाडि पार्दै एमालेको तर्फबाट उम्मेदावार बनेकी सरला बोलखे बिजयी भएकी थिइन्, भने राप्रपाको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेकी जिम्बालाई काँग्रेसको तर्फबाट उम्मेदवार बनेका दामोदर खनालले जितेका थिए ।
यस पटक दुबैजनाले नेपाली काँग्रेसबाट वडा ५ र १० को अध्यक्ष जितेका हुन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेकी जिम्बालाई यस पटक गठबन्धनको साथ थियो । बकैया ५ वडाबाट अध्यक्षको टिकट पाएपछि उनले पालिका हाँक्ने योजनाले अब वडा बनाउने बताएकी थिइन ।
अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनिसकेको भएपनि वडास्तरबाटै विकासको बाटो पहिल्याउन आफूहरु लागिपरेको उनीहरुले बताए । बिजयी भएपछि पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ र टोलको बिकासमा लागिपर्ने जिम्बाले बताइन् ।
१० स्थानीय तह रहेको मकवानपुरमा लामा मात्रै एक महिला स्थानीय तह प्रमुख भएकी हुन् । अन्य ९ पालिकामा ९ प्रमुख पुरूष नै चुनिए । यतिमात्रै हैन गठबन्धनको कारण अघिल्लो निर्वाचनमा भन्दा यसपटक महिलाको प्रतिनिधित्व भने खुम्चेको छ । अघिल्लो पटक १० मध्ये ९ वटा पलिकामा महिला उपप्रमुख थिए, यसपटक गठबन्धनको कारण मकवानपुरमा उपप्रमुखमै पनि महिला आउन पाएनन् ।
यसपटक जिल्लाको १० मध्ये ६ वट पालिकामा प्रमुख उपप्रमुख दुबै पुरूष निर्वाचित भएका छन् । ४ वटा पालिकामा मात्रै लैङ्गक समाबेशी प्रतिनिधित्व भएको छ ।
प्रमुख वा उपप्रमुख मध्ये एकमा महिला अनिवार्य भनिएता चुनाव जित्नकै लागि राजनीतिक दलहरू गठबन्धन गर्दा महिला पाखा लागेका हुन् । (सहिखबरबाट)