इतिहास रच्दै हेटौंडाको मेयरमा लामा निर्वाचित

संवाददाता
२०७९ जेष्ठ ७, शनिबार १७:००

हेटौंडा– नेकपा एमालेको गढ भत्काउँदै हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामा विजयी भएकी छन् । लामाले नेकपा एमालेका अनन्तप्रसाद पौडेललाई २ हजार १ सय ५९ मतले पराजित गरेकी हुन् ।

कुल ७३ हजार ४ सय १४ मत खसेकोमा लामाले २३ हजार ६७ मत ल्याएकी छन् । एमालेका मेयर उम्मेदवार पौडेलले कुल २० हजार ९ सय ८ मत ल्याएका छन् । मेयरकै अर्का प्रतिद्वन्द्वी राप्रपाका दिपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याउँदै तेस्रो भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

हेटौंडाको मेयर र उपमेयरमा ०४६ सालपछि पहिलो पटक एमाले पराजित हुनु परेको हो । २०७४ को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनलाई पराजित गर्दै एमालेबाट मेयर र उपमेयर विजयी भएका थिए ।

गत निर्वाचनमा हाल मेयरमा विजयी लामाले एमालेबाट गठबन्धनलाई परास्त गर्दै उपमेयरमा निर्वाचित भएकी थिइन् । एमाले विभाजनसँगै नेकपा (एस) रोजेकी लामाले यसवर्ष गठबन्धनकै बलमा मेयर जितेकी हुन् ।

हेटौंडाको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भए । उनले ३२ हजार ५ सय ९३ मत ल्याएका छन् । ०४६ पछिको बहुदल स्थापना पश्चात हेटौंडाको उपमेयरमा पहिलो पटक कांग्रेस विजयी भएको हो ।

उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याए पनि पराजित भइन् । राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ५ हजार ८ सय ८७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेटौंडामा पहिलो महिला मेयर बन्दै इतिहास रच्ने लामा को हुन् ?

२७ पुस २०३३ मा हेटौंडा– ११ नवलपुरमा जन्मिएकी लामा सानैदेखि राजनीतिमा सक्रिय थिइन् । बाल्यकाल साधारण रूपमा बिताएकी लामाले २०४६ सालबाट विद्यार्थी राजनीति सुरु गरेकी थिइन् ।

नवलपुरको त्रिभुवन माविबाट एसएलसी अध्ययन गरेकी उनले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए र हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबीसम्मको अध्ययन गरेकी छन् ।

पढाइसँगै राजनीतिक जीवनलाई निरन्तरता दिँदै आएकी लामा ०५२ सालमा एमालेनिकट अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष भएको बताउँछिन् ।

०७१ मा तत्कालीन एमाले मकवानपुरको उपसचिवमा निर्वाचित भएकी उनले पार्टीमा विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गरेकी छन् । लामा ०७१ मै अखिल नेपाल महिला संघको जिल्ला सचिव भइन् ।

०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यसमेत भएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष पनि बनिन् । राजनीतिक क्षेत्रमा क्रियाशील लामा ०७४ को स्थानीय तह चुनावमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

‘उपमेयर हुँदा हेटौंडा उपमहानगरपालिकाभरिका महिला दिदीबहिनीहरूको समस्या र गुनासोलाई नजिकबाट नियाल्ने मौका पाएँ । अब मेयर भएर महिलाहरूको क्षमता अभिवृद्धि र आर्थिक उन्नतिको क्षेत्रमा धेरै काम गर्छु,’ लामाले शिलापत्रसँग भनिन् ।

लामासँग बालविकासको क्षेत्रमा १० वर्षसम्म काम गरेको अनुभव छ । आफूले निजी क्षेत्रबाट बालबालिकाको क्षेत्रमा लामो समय काम गरेको उनले बताइन् । लामाले हालसम्म चीन, भारत र दक्षिण कोरियाको भ्रमण गरेकी छन् ।

१३ असार ०५४ मा हेटौंडा– १ चाइनाक्वाटरका व्यवसायी सुनकुमार लामासँग उनको विवाह भयो । ‘श्रीमान् तथा घरपरिवारको राम्रो साथ सहयोग र मायाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सँगसँगै सफलतापूर्वक लान सकेकी हुँ,ु लामाले भनिन्, ुपरिवारको साथले नै म आज यो ठाउँमा छु ।’ शिलापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*