कृषि उत्पादनबाट विकासको मुहार फेर्दै थाहानगर

संवाददाता
२०७९ बैशाख २८, बुधबार १३:४८

हेटौंडा– जनतालाई सुसूचित एवम् जागरूक बन्न अभिप्रेरित गर्ने थाहा अभियानका अभियन्ता स्वर्गीय रूपचन्द्र विष्टको स्मरणमा नेपाल सरकारको २०७१ वैशाख २५ गतेको निर्णयले मकवानपुरको उत्तरी क्षेत्रका तीनवटा गाविस समेटेर थाहा नगरपालिका स्थापना गरिएको हो ।

सुरुमा दामन, पालुङ र बज्रबाराहीलाई समेटेर नगरपालिका घोषणा गरिएकोमा २०७३ सालमा चित्लाङ, आग्रा र टिस्टुङ गाविस समेटिएको थियो । आकर्षक पदमार्ग, शीतोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरू, प्रशस्त जैविक विविधताजस्ता सम्पदाहरू यहाँ रहेका छन् । कृषिमा पनि यो क्षेत्र प्रख्यात छ ।

नगरमा वार्षिक १ अर्बभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । मकवानपुर जिल्लाकै कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकामा पछिल्लो पाँच वर्षमा कृषि क्षेत्रमा उल्लेख्य काम भएका छन् । कृषिको उर्वर भूमिको रुपमा रहेको थाहा नगरपालिकामा आलु उत्पादन अत्यन्तै राम्रो हुन्छ ।

तर, त्यहाँका किसानले आलुको बीउका लागि काठमाडौं, नारायणगढ वा हेटौंडा धाउनुपर्ने अवस्था रहेको थियो । भनेको जस्तो बीउ नपाउँदा उत्पादनमा समेत प्रभाव पर्ने अवस्था थियो । जसले गर्दा थाहा नगरमै कोल्ड स्टोर निर्माण गर्नुपर्ने माग थियो ।

नगरबासीको मागको सम्बोधन गर्दै नगरपालिकाले कोल्ड स्टोर निर्माण गरेको छ । प्रदेश सरकार, थाहा नगरका सहकारीहरू र नगरपालिकाको समन्वयमा ११ करोड ४७ लाख रुपैयाँको लागतमा कोल्डस्टोर निर्माण गरिएको हो ।

चिस्यानका लागि चाहिने सामग्रीहरूको खरिदका लागि करिब ६ करोड रुपैयाँको ठेक्का भई खरिद कार्य भएको जनाइएको छ । केहि वर्षअघिसम्म थाहानगरमा कृषिका लागि गोरु पाल्ने, गोरु जोत्ने परम्परा थियो भने अहिले गोरु विस्थापन गर्दै हाते ट्याक्टरले सहज रूपमा खेती लगाउन सक्ने वातावरण बनाइएको छ ।

दामन, पालुङ क्षेत्रमा त सबै ठाउँमा ट्याक्टरले नै जोतेर खेती हुन्छ । सुर्का बारी भएका ठाउँहरूमा पनि हाते ट्याक्टरको प्रयोग गर्न किसानलाई विभिन्न अनुदानहरू दिइएको छ ।

विषादी छर्ने मेसिन, हाते औजारहरू नगरपालिकाले अनुदानमा वितरण गर्दै आएको छ । आलुको उत्पादन बढाउन नयाँ आलुको बीउ पनि सहकारीमार्फत किसानलाई वितरण गरिएको नगरपालिकाको निवर्तमान मेयर लवशेर विष्टले जानकारी दिए ।

उनको अनुसार पशुपालनको क्षेत्रको विकासका लागि पनि भैंसी पकेट क्षेत्र, गाई पकेट क्षेत्र घोषणा गरी पशुपालन प्रवद्र्धन गरिरहेको छ । निवर्तमान मेयर विष्ट नगरपालिकाको विकासमा कृषि क्षेत्र नै महत्वपुर्ण रहेको बताउँछन् । नगरमा हुने कृषि उत्पादनलाई जोडेर विकास कार्य भएको उनको दावी छ ।

नगरको १२ नम्बर वडाको जगडाँडामा गत आर्थिक वर्ष २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋणमा २० वटा भैंसी वितरण गरिएको थियो । अहिले त्यहाँका किसानहरू भैंसी पालेर आम्दानी लिन थालेका छन् ।

त्यहाँ चिस्यान केन्द्र पनि स्थापना गर्ने तयारी छ । बजारसम्म दूध ल्याउनका लागि अटोको समेत व्यवस्था नगरपालिकाले गरिदिएको छ । आग्राको डाँडाबास, मोरिया हुँदै धादिङको माधवबेसी जाने २८ किमि सडक निर्माण गर्न करिब १ अर्बको समपूरक योजना समावेश भएको छ ।

उक्त योजना स्वीकृत भई निर्माण भएमा आग्राका कृषकहरुलाई आफ्नो उत्पादनलाई बजारसम्म ल्याउन निकै सहज हुने जनाइएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ९५ करोड ६४ लाख ३२ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

नगरको १२ वटै वडामा प्रतिवडा ५ किलोमिटरका दरले ६० किलोमिटर सडक पक्की गर्ने योजनालाई निरन्तरता दिँदै बजेट बनाएर कार्यान्वयनमा छ । नगरभरका काठको विद्युत् पोल विस्थापन गर्ने, थाहा–३ स्थित कालाभैरव चौरमा निर्माणधीन थाहा शीतभण्डार निर्माण कार्यलाई सम्पन्न गर्ने जस्ता योजनाहरू प्राथमिकीकरण गरिएका छन् ।

तस्बिरः गणेश विष्टको वालबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*