पाँच वर्षमा थाहा नगरले स्वास्थ्यमा फेरेको मुहार
हेटौंडा– पाँच वर्षअघिसम्म थाहा नगरपालिकाबासी सामान्य स्वास्थ्य उपचार गर्न पनि हेटौंडा वा काठमाडौं धाउनु्पथ्र्यो । नगरपालिकाको सदरमुकाममा स्वास्थ्यचौकी भएपनि प्राथमिक उपचार पाउन पनि मुस्किल पर्ने गथ्र्यो ।
नाम र पहिचानको हिसाबले अगाडि रहेको थाहानगरपालिकामा पछिल्लो पाँच वर्ष यता स्वास्थ्य सेवा पनि अगाडि बढ्दै गएको छ । अहिले थाहा नगरपालिकाको बासीन्दाले घर आगँनमा नै प्राथमिक स्वास्थ्य सेवा पाइरहेका छन् ।
सामान्य स्वास्थ्य उपचारको लागि घण्टौं लगाएर हेटौंडा र काठमाडौं धाउनुपर्ने बाध्यता छैन । पालुङकी देवकी ढकाल पाँच वर्षअघिसम्म सामान्य स्वास्थ्य समस्या लिएर पनि हेटौंडा आउनु पर्ने करा सम्झिन्छिन् ।
खेतबारीमा काम गर्दा हात काट्दा एकपटक उनी उपचारको लागि हेटौंडा नै आउन परेको ढकालले बताइन् । नगरमा अहिलेको जस्तो वडा नै पिच्छे स्वास्थ्य चौकी नभएपनि सदरमुकाममा थियो ।
तर,पनि एउटा मात्रै स्वास्थ्य चौकीमा भएकोले उपचार गर्न जानेहरु धेरै हुनुको साथै राम्रोसँथ उपचार सेवा पनि नपाइने गरेको उनले सुनाइन् । त्यसैले उनी सामान्य उपचार गर्न परेपनि अक्सर हेटौंडा नै धाउथिन् ।
‘अहिले त घरनजिकै स्वास्थ्य चौकी छ । केहि समस्या आइहालेमा एकैछिनमा उपचार सेवा पाइन्छ’,उनले भनिन्‘अब सामान्य उपचार गर्न घण्टौको बाटो पार गरेर जान पर्दैन ।’
नगरपालिकाले थाहानगरका सबै वडामा स्वास्थ्य संस्था निर्माण गरी सेवा दिइरहेको छ । वडा नम्बर ३ र ४ को बीच भागमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङलाई स्तरोन्नति गरी १५ शैय्याको प्रस्तावित अस्पताल निर्माणाधीन अवस्थामा रहेको थाहा नगरपालिकाको निवर्तमान मेयर लवशेर विष्टले जानकारी दिए ।
प्राथमिक स्वास्थ्य सेवा वडाबाटै हुने व्यवस्था गरिएको भएपनि अन्य स्वास्थ्य उपचारको लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्न नगरमा नै १५ शैय्याको अस्पताल निर्माण कार्य भइरहेको बताए ।
उनले उक्त अस्पतालमा विशेषज्ञ डाक्टरहरुलाई पनि राखेर गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्ने योजनासहित अस्पताल निर्माण भइरहेको समेत बताए । उनको अनुसार प्रस्तावित अस्पतालमा विभिन्न जाँचका लागि प्रयोगशाला ल्याब, आधुनिक एक्सरे मेसिन जडान गरिएको छ ।
त्यसैगरी स्थायी अस्पतालका निम्ति १२ करोड १५ लाख रुपैयाँको लागतमा सम्झौता भई काम भइरहेको छ । अबको केहि समयपछि १५ शैय्याको स्थायी अस्पताल संरचना तयार हुने बताइएको छ ।
कोरोना महामारीमा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाएका कारण अक्सिजन प्लान्ट निर्माणका कार्य समेत भइरहेको विष्टले जानकारी दिए ।
अक्सिजन प्लान्ट निर्माणको लागि नगरपालिकाले ५५ लाख रुपैया बजेटसमेत विनियोजन गरेको थियो । जसमा केन्द्रको स्वास्थ्य मन्त्रालयले समेत एक करोड रुपैयाँ बजेट विनियोजन गरिदिएको छ ।
कुल एक करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएर अक्सिजन प्लान्ट निर्माण कार्य भइरहेको विष्टको भनाई छ । अक्सिजन प्लान्ट भवन निर्माण गर्न प्रदेशको स्वास्थ्य मन्त्रालयबाट १२ लाख रुपैयाँ पनि विनियोजन भइसकेको छ ।
अक्सिजन उत्पादन सुरु भएपछि नियमित अक्सिजन लगाउनुपर्ने दमका बिरामीहरूलाई निःशुल्क अक्सिजन पनि उपलब्ध गराउने नगरपालिकाले योजना बनाएको छ ।
आग्रा स्वास्थ्यचौकी, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र बज्रबाराही स्वास्थ्य केन्द्र र टिस्टुङमा ल्याब सञ्चालनमा आइसकेको छ । थाहा नगरपालिकाले कोरोना संक्रमणको समयमा पनि जिल्लामै सबैभन्दा प्रभावकारि ढंगले काम गरेको भन्दै चर्चा कमाएको थियो ।
कोरोना संक्रमण परिक्षणलाई व्यवस्थित गरेर संक्रमण फैलन नदिएका थाहानगरले कोरोना संक्रमितलाई पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण गर्ने काम समेत गरेको थियो ।
कोरोना संक्रमितहरुको मनोबल उच्च बनाउन र शारीरिक तन्दुरुस्तीका लागि कोरोना संक्रमितलाई चना, अण्डा,साबुन,सर्जिकल मास्क,सेनिटाइजर लगायतको सामाग्री समेत वितरण गरिएको थियो ।