‘मकवानपुरगढीमा एक्लै एमालेसँग गठबन्धन अत्तालियो’
हेटौँडा– आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले गठबन्धनका पाँच दल एमालेसँग अत्तालिएको बताएका छन् ।
एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुमागाईंले शुक्रबार ६ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दल एक तिर एमाले एक तिर हुँदापनि गठबन्धन अत्तालिएको बताएका हुन् । ‘जनताबीचको गठबन्धन छैन, पार्टी–पार्टीबीचको मात्रै गठबन्धन हो ।,’ उनले भने । जनताले गठबन्धन नरुचाएको उनको दावी छ । मकवानपुरगढीमा एमालेले जित्ने आधार बारे बाहिर भनिरहनु नपर्ने भन्दै जित सुनिश्चित रहेको उनको ठोकुवा छ ।
कांग्रेसले त्रसित भएर बितण्डा मच्चाएको उनले आरोप लगाए । केही दिनअघि कांग्रेसका कार्यकर्ताहरुले एमालेमाथि भौतिक आक्रमण गर्न खोज्नु राजनीतिक संस्कारभित्र नरहेको हुमागाईंले बताए । कांग्रेसका गाउँ सभापतिले समेत कमजोरी महशुस गरेकोले एमाले अनुशासित पार्टी रहेको प्रमाण दिएको उनको भनाई छ । एमाले संयमित भएर अनुशासित भएर अघि बढ्ने उनको भनाई छ ।
एमालेलाई जिस्काउने र आक्रमण गर्ने कल्पनासमेत नगर्न उनले सुझाव दिए । एमालेको शक्तिलाई कसैले नदेखेको भन्दै एमाले चुनाव जित्ने पार्टी भएकाले अनुशासित भएर अघि बढ्नु पर्नेमा हुमागाईंको जोड छ । उनले २०७४ सालमा निर्वाचन जितेर पाँच वर्ष कामगर्दा प्रतिबद्धता पत्रमा उल्लेख गरिएका ८० प्रतिशत विषयको सम्बोधन भएको बताए । २०७९ सालको प्रतिबद्धता पत्रमा उल्लेख भएका कुरालाई पूर्ण रुपमा लागू गरेर जनताको पक्षमा काम गर्ने बताए ।
प्रतिबद्धता पत्र पढ्दा एमाले स्पष्ट दृष्टिकोण भएको पार्टी र समृद्धि खोज्ने पार्टी रहेछ भनेर बुझ्न सकिने उनले जानकारी दिएका छन् । कृषि, सडक, पुल, बिजुली पोलको स्तरोन्नती, उद्योग र उद्यम, सामाजिक विकासका क्षेत्रमा भएका कामलाई निरन्तरता दिने उनले बताए । डुम्रेकुनाको अस्पतालमा वृद्धवृद्धा र असक्तलाई निःशुल्क उपचार दिइने एमालेको योजना हुमागाईंले बताए । एमालेको योजनालाई लागू गरेर गाउँलाई समृद्ध बनाउन र योजनालाई पूर्णता दिन एमालेलाई जिताउनुको विकल्प नभएको उनको जिकिर छ ।
हुमागाईले मकवानपुरगढीका जनताको समस्या लालपूर्जा भएको बताए । गाउँपालिकाभित्रका भूमिहीन, अव्यवस्थित बसोबास गर्दै आएकालाई लालपूर्जा दिन नापजाँचको काम गाउँपालिकाले गरिसकेको भन्दै स्थानीय सरकारको ऐनमा टेकेर अस्थायी लालपूर्जा भएपनि दिने प्रतिबद्धता व्यक्त गरे । केन्द्रमा एमालेको सरकार नआई लालपूर्जा वितरण गर्न सक्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै ६ महिनापछि एमाले सरकारमा आउने र लालपूर्जा वितरण गर्ने योजना अघि बढाउने हुमागाईंले जानकारी दिए ।
‘गाउँपालिकाले प्राविधिक राखेर नापजाँच गरेर भएपनि अस्थायी लालपूर्जा दिन्छ । स्थानीय सरकारलाई अस्थायी लालपूर्जा वितरण गर्न ऐनले पनि अधिकारी दिएको छ ।,’ हुमागाईंले भने । एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्री लम्सालले पाँच दलीय गठबन्धन एमालेसँग डराएको बताएका छन् ।
चुनावी सभामा बोल्दै उनले एमालेको जित निश्चित भएको देखिएपछि गठबन्धनले अनेक हतकण्डा अपनाउन थालेको बताएका छन् । गठबन्धन राजनीतिक प्रतिस्पर्धा गर्न छोडेर अन्य गतिविधिमा अगाडि बढेको लम्सालले बताए । ‘के एमाले र बिदुर हुमागाईंले डुम्रेकुनामा अस्पताल बनाउनु अपराध हो ?, पक्की पुल बनाउनु एमाले र हुमागाईंको गलत काम हो ?,’ लम्सालले भने । गठबन्धनलाई राजनीतिक संस्कार अनुसार अगाडि बढ्न आग्रह गरे ।
घर अगाडि स्ल्याब ढलान गरिरहँदा एमालेले पराजय भोग्नु पर्ने आधार के हो ? भन्दै उनले प्रश्न गरे । कांग्रेसका जनप्रतिनिधिले सरकारी ढुवानीमा सामान ल्याउने र वन समितिलाई त्यसको पैसा तिर्नुपर्छ भनेर खल्तीमा पैसा हालेको देखिएको लम्सालले आरोप लगाएका छन् ।