मानकुमारीको विगतः जेल जीवनदेखि उपाध्यक्ष उम्मेदवारसम्म

संवाददाता
२०७९ बैशाख २२, बिहीबार ०७:१६

हेटौंडा– केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ ।

उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भई उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । राजनीतिक दलको प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र उम्मेदवारहरु पनि गाउँरनगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् ।

ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी मानकुमारी पाख्रिन (आशा) ले उम्मेदवारी दिएकी छिन् । उनी सत्तारुढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन् ।

मानकुमारी अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत हुन् । २०४० साल असार २९ गते रामबहादुर र पम्फामाया नेपालीको जेठी छोरीको रुपमा साविकको हटिया गाविसमा जन्मिएकी मानकुमारीको राजनीतिक जीवनको सुरुवात २०५६ सालबाट प्रारम्भ भयो । त्यसबेला स्थानीय जनप्रिय माविमा उनी कक्षा ९ मा अध्ययनरत थिइन् । उनको जीवन निकै संघर्षमय छ ।

माओवादीको विद्यार्थी संगठनमा क्रियाशील उनी २०५७ मा संगठनको सचिव भइन् । २०५८ मा महिलाहिंसा विरुद्धको आन्दोलनमा उनी हेटौंडाबाट पक्राउ परिन् र ३ महिनासम्म कष्टपूर्ण जेलजीवन बिताउन बाध्य भइन् ।

‘तत्कालिन सरकारले व्यवस्थाका विरोधीहरुलाई झुटा मुद्दा लगाउँथ्यो । मलाई पनि शान्ति सुरक्षा सम्बन्धि मुद्धा लगाइएको थियो । गिरफ्तार भएपछि ५ दिन हेटौंडाकै प्रहरी हिरासतमा राखियो अनि महोत्तरीस्थित जलेश्वर कारागारमा पठाइयो । ३ महिनाको कष्टपूर्ण जेलजीवन विताएपछि म कारागार मुक्त भएँ ।’

२०५८ मा पहिलो युद्ध विराम भएपछि मानकुमारी क्रान्तिकारी सिद्धान्तको विजारोपण गर्न सार्वजनिक रुपमै क्रियाशील हुन थालिन् । तर, सरकारले २०५८ साल मंसिरमा संकटकाल घोषणा गरेपछि उनी भूमिगत भइन् र माओवादी आन्दोलनमा सक्रिय रहिन् ।

त्यसबेला पार्टीले उनलाई सांस्कृतिक क्षेत्रको जिम्मेवारी दिएको थियो । कला संस्कृतिको माध्ययमबाट आम जनतामा पार्टीका एजेण्डाबारे सु–सूचित गराउनुपर्ने थियो । उनी दिनरात सोही कार्यमा व्यस्त हुन्थिन् ।

माओवादीले त्यतिबेला डोके रेडियो (डोकोमा रेडियोको ट्रान्समिटर बोकेर हिड्ने) सञ्चालन गथ्र्यो । मानकुमारीकै नेतृत्वमा रेडियो जनगणतन्त्रमार्फत् गाउँबस्तीसम्म माओवादीको एजेण्डा पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन हुन्थ्यो ।

‘विशेषगरी काभ्रे, रामेछाप र मकवानपुरमा रहेर काम गरेँ । हामी रेडियो संचालनका आवश्यक सामग्री डोकोमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउथ्यौँ, धेरैजसो हाम्रो स्टेशन काभ्रे जिल्लाको पहाडी क्षेत्रमा हुन्थ्यो ।’ उनले भनिन् ।

‘भूमिगत हुँदा सहिद भएका सहयात्रीहरुलाई सम्झिँदा निकै पीडाबोध हुन्छ । आफ्नै आँखा अगाडि साथीहरु आफैँले बोकेको बम पड्एिर र कोही युद्धका क्रममा विपक्षीले हानेको गोली लागेर सहिद हुनुभयो ।

धेरै जना घाइते अपाङ्ग पनि हुनुभएको छ । बम पड्किएर असरल्ल छरिएका सहयोद्धाहरुको मृत शरिरका टुक्राहरु तत्नामा बटुलेर काजक्रिया गरेको क्षण म कहिल्यै बिर्सन सक्दिन ।’ उनी भाबुक भइन् ।

मानकुमारी मकवानपुरको झुरझुरेमा माओवादी छापामारहरु र सरकार पक्षबीच भएको झडपमा पनि सहभागी थिइन् । जहाँ २७ जना र सो भन्दा धेरै संख्यामा सेनाहरु पनि मारिएका थिए ।

‘हामी विपन्न वर्ग, हेपिएका, दबिएका, दमन, शोषण र उत्पिडनमा परेकाहरुकै पक्षमा लडेका थियौँ । प्रतिक्रियावादी र प्रतिक्रान्तिवादी शोषक सामन्ती वर्गलाई परास्त गर्न सर्वहारा जनताको पक्षमा लड्दै गर्दा धेरै पटक मृत्युलाई साक्षात्कार गरेका छौँ ।’ उनले स्मरण गरिन् ।

भूमिगत भएकै बेला २०५८ मा उनको भीम पाख्रिनसँग जनवादी विवाह भयो । जो, सहिद रुद्र पाख्रिनका छोरा हुन् र हाल पार्टीको जिल्ला सचिव छन् । ‘मलाई बुवाले निकै माया गर्नुहुन्थ्यो । हाम्रो विवाहमा उहाँ सहभागी हुनुहुन्थ्यो । २०५९ मा बुवा मकवानपुर, बारा र पर्साको इन्चार्ज हुनुहुन्थ्यो ।

पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उहाँ पक्राउ पर्नुभयो र छतिवनमा सेनाले उहाँको गोली हानी हत्या गर्यो । मुलुकको शासन व्यवस्था र जनताको अवस्थामा परिवर्तनको लागि हामीले परिवार गुमायौँ, धेरैले गुमाएका छन् ।’ उनले स्मरण गरिन् ।

२०६२र०६३ को जनआन्दोलनमा मानकुमारी अग्र भागमा थिइन् । माओवादी आन्दोलनको अगुवा, क्रान्तिकारी नेतृ मात्रै नभई उनलाई गृहिणीको जिम्मेवारी पनि सम्हाल्नुपर्ने थियो ।

श्रीमान् श्रीमती दुवै पार्टीको काममा सक्रिय भएकाले आर्थिक व्यवस्थापन गर्नुपर्ने, बालबच्चाको स्याहार सुसार गर्नुपर्ने, घरगृहस्थी सम्हालेर राजनीतिमा सक्रिय हुनु उनलाई फलामको च्यूरा चपाउनुझैँ थियो । तर, राजनीतिक क्षेत्रमा आफुलाई क्रियाशील तुल्याइरहिन् ।

मानकुमारीले एलएलसीसम्मको अध्ययन पूरा गरेकी छिन् । उनको राजनीतिक यात्रा २०५९ मा जिल्ला सदस्य, २०६४ मा क्षेत्रीय ब्यूरो सदस्य हुँदै अघि बढ्यो र हाल केन्द्रीय सदस्य छिन् ।

मानकुमारी रेडियो सरोवरको कार्यक्रम प्रश्तोता भएर पनि काम गरिन् । उनले शहिद रुद्र स्मृति पार्कको अध्यक्ष, श्रमिक सानाकिसान कृषि सहकारीको उपाध्यक्ष, मकवानपुरगढी गाउँपालिकाको शिक्षा र दलित समितिको सदस्य भएर काम गरेकी छिन् ।

अहिलेसम्म संसदीय फाँटको जिम्मेवारी नपाएकी मानकुमारी आफु गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएपछि, जनहितका धेरै काम गर्ने योजना रहेको बताउँछिन् ।

महिला, बालबालिका, युवा, एकल, असहाय, बृद्धबृद्धाको क्षेत्रमा विशेष योजना बनाएर काम गर्ने, कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्दै लैजाने, ग्रामिण विद्युतीकरण, स्वास्थ्य, रोजगार, विद्यालय आवास, बस सञ्चालन, छात्राहरुलाई उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उनी सुनाउँछिन् ।

सहकारीलाई व्यवस्थित गर्न अनुदान व्यवस्था गर्ने, साना उद्योग सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गर्ने, कला, साहित्य तथा खेल क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउने उनको योजना छ ।

मकवानपुरगढीलाई समृद्ध बनाउने र यहाँका जनतालाई स्थानीय सरकारको प्रत्याभूति दिलाउने गरी काम गर्न आफ्नो उम्मेदवारी रहेको उनी बताउँछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*