विद्यालयका प्रधानाध्यापकसहित शिक्षकहरु चुनावी प्रचारप्रसारमा
हेटौंडा– स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सामुदायिक विद्यालयका शिक्षकले आचरसंहिता उल्लंघन गर्न थालेका छन् । सामदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक नै उम्मेदवारको पक्ष विपक्षमा मत माग्न व्यस्त हुन थालेका छन् ।
हेटौंडा १३ पदमपोखरीका महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठले एमालेका उम्मेदवारको चुनावी प्रचारमा कस्सिएर लागेका छन् । उनले हेटौंडाबाट एमालेका मेयर उपमेयरसहित वडाध्यक्षका उम्मेदवारलाई मत मागेको पोष्ट आफ्नो फेसबुक एकाउन्टमार्फत शेयर गरेका छन् ।
आचारसंहिता विपरीत हेटौंडा १४ स्थित भृकुटी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पनि स्थानीय तहका निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा लागेका छन् ।
भृकुटीका सहायक प्रधानाध्यापक प्रेमप्रसाद गौतम हेटौंडा १४ का एमालेका वडाध्यक्षका उम्मेद्वार दीपक खड्काको चुनाव प्रचारमा सहभागिताका साथै आफ्नो आधिकारिक फेसबुक एकाउन्ट मार्फत मत मागिरहेका छन् ।
निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ३ को ९ (झ) अनुसार अनुसार सामुदायिक विद्यालय वा नेपाल सरकार तथा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्व विद्यालय तथा सो मा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश सूचना वा प्रचार प्रसारका सामाग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था रहेको छ ।
सो आचारसंहिताको उल्लंघन गर्दै हेटौंडाको प्रतिष्ठित सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माविका शिक्षक सोम आचार्यले पनि एमालेबाट हेटौंडाका मेयर र उपमेयरको उम्मेदवारसँग चुनाव प्रचारमा पुगी फोटो खिचाएको सामाजिक सञ्जालमा भेटिएको छ ।
हेटौैंडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका माध्यमिक तह सामाजिक शिक्षक बालकुमार श्रेष्ठले पनि आफ्नो फेसबुक एकाउन्टमार्फत एमाले हेटौंडाका मेयर र उपमेयरका उम्मेदवारका पक्षमा मत मागेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
भीमफेदी स्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक कृष्ण पोखरेल पनि एमाले हेटौंडाका मेयर र उपमेयरका उम्मेदवारको प्रचारमा लागेका छन् । उनले एमाले कार्यकर्ताले हालेको स्टाटस आफ्नो फेसबुक एकाउन्टमार्फत शेयर गरेका छन् ।