थाहा नगरः कृषि यान्त्रिकरणको प्रयोग बढ्यो, पाँच वर्षमा गोरु विस्थापन
मकवानपुर– उत्तरी मकवानपुरको थाहा नगरपालिका जिल्लाकै कृषि उत्पादनको हब मानिन्छ । कृषिमा यान्त्रिकरणको विस्तार नहुँदापनि थाहा नगरपालिका जिल्लाकै अब्बल थियो ।
गोरुबाट ठूलो फँट जोत्नु पर्ने बाध्यता किसानलाई थियो । पहिला अहिलेको जस्तो थरीथरीका ट्याक्टर थिएनन् । भएपनि किन्न सक्ने अवस्था किसानसँग हुँदैन्थ्यो । तर, मुलुकमा संघीयता पश्चात बनेको थाहा नगरपालिकाले भने कृषि यान्त्रिकरणमा जोड दियो । थाहा नगर प्रमुख लवशेर विष्टले कृषि पेशा परम्परागत तरिकाबाटै गोरु लगाएर दीगो नहुने भन्दै कृषि यान्त्रिकरणमा जोड दिएका हुन् ।
नगरपालिकाले सुरुवाती वर्षदेखि नै सहकारी, समूह र कृषि फर्ममार्फत कृषि यान्त्रिकरण वितरण गर्दै गोरु विस्थापन गर्ने योजना बनाएको थियो । योजनाअनुसार पाँच वर्षभित्र थाहा नगरको फाँटमा गोरु देखिन छोडेको थाहा नगर प्रमुख विष्ट बताउँछन् ।
हिजो कृषिका लागि गोरु पाल्ने, गोरु जोत्ने परम्परा थियो भने अहिले गोरु विस्थापन गर्दै हाते ट्याक्टरले सहज रुपमा खेती लगाउन सक्ने वातावरण बनाइएको छ । दामन, पालुङ क्षेत्रमा त सबै ठाउँमा ट्याक्टरले नै जोतेर खेती हुने गरेको विष्टले बताए ।
सुर्का बारी भएका ठाउँहरुमा पनि हाते ट्याक्टरको प्रयोग गर्न नगरपालिकाले किसानलाई विभिन्न अनुदानहरु दिइएको छ । विषादी छर्ने मेसिन, हाते औजारहरु नगरपालिकाले अनुदानमा वितरण गर्दै आएको छ ।
पशुपालन र कृषिको क्षेत्रमा पनि धेरै काम गरेको नगर प्रमुख विष्टको भनाइ छ । थाहा नगरपालिका विशेष गरी कृषिको उर्वर भूमि मानिन्छ । यहाँ आलु उत्पादन अत्यन्तै राम्रो हुन्छ । पशुपालनको क्षेत्रको विकासका लागि पनि भैंसी पकेट क्षेत्र, गाई पकेट क्षेत्र घोषणा गरी पशुपालन प्रवद्र्धन गरिएको छ ।
नगरको वडा नम्बर १२ को जगडाँडामा गत वर्ष २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋणमा २० वटा भैंसी वितरण गरिएको थियो । अहिले त्यहाँका किसानहरु भैंसी पालेर आम्दानी लिन थालेका छन् । त्यहाँ चिस्यान केन्द्र पनि स्थापनाको तयारी छ । बजारसम्म दूध ल्याउनका लागि अटोको समेत व्यवस्था नगरपालिकाले गरिदिएको छ । दूध बिक्री नभएमा घरमै मिठाई बनाउनका लागि मिठाईको तालिम दिने योजना पनि नगरपालिकाले बनाएको छ ।
कृषि उपज उत्पादनबाट यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकासिएको छ । यहाँको काउली, आलु, मुला, खुर्सानी प्रख्यात छ । कृषि बाटै समृद्धि खोज्ने अभियान बनाएको थाहा नगरले पाँच वर्ष कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको देखिन्छ ।
थाहा नगरपालिकामा हुने कृषि उत्पादन मकवानपुरमा मात्रै नभएर काठमाडौं लगायतका धेरै ठाउँमा समेत पुग्ने गरेको छ । काठमाडौंमा पुग्ने काउली र आलू लगायतको अधिकांश तरकारी थाहा नगरपालिकाकै उत्पादन हुने गर्दछ । तरकारीमा काठमाडौंको लाइफलाइन थाहा नै हो ।
चिसो र उर्वरभुमि रहेको सो क्षेत्रमा पछिल्लो पाँच वर्ष यता कृषि उत्पादनले थप प्राथमिकता पाएको छ । स्थानीय निकायबाट स्थानीय तह हुँदै बनेको थाहानगरपालिकामा जनप्रतिनीधिहरु आएपछि कृषि उत्पादनले प्राथमिकता पाएको हो ।
नगरपाकिलाले जिल्लाको पुर्वी क्षेत्रलाई कृषि उत्पादनलाई बढाएको मात्रै छैन कृषिमा व्यावसायिकरण गर्दै किसानहरुलाई आत्मनिर्भर समेत बनाएको छ । थाहा नगरपालिकाले सो क्षेत्रका बासिन्दालाई कृषिमा आकर्षित गर्दै उत्पादन बढाउन पाँच वर्षमा विभिन्न प्रकारका कृषि कार्यक्रम गरेको छ ।
थाहा नगरपालिकाको कृषि शाखा प्रमुख सञ्जय तिवारीको अनुसार पछिल्लो पाँच वर्षमा नगरपालिकाले किसानहरुलाई प्रशस्त अनुदान वितरण गरेको छ । काउली र आलू लगायतको तरकारी उत्पादनमा प्रख्यात रहेको उक्त क्षेत्रमा काउलीको उत्पादन बढाउन थाहा नगरपालिकाले बायोटिन कृषि चुन वितरण गर्दै आएको छ । बायोटिन कृषि चुनले अम्लिए माटोलाई सुधार्ने काम गर्नुको साथै काउलीको जरामा गाँठा लाग्नबाट जोगाउने गर्छ ।
त्यसैले नगरपालिकाले काउलीको उत्पादनलाई बढाउन विगत पाँच वर्षदेखी बायोटिन कृषि चुन वितरण गर्दै आएको कृषि शाखा प्रमुख तिवारीको भनाई छ । उनले सुरुवातमा नगरपालिकाले वर्षेनी एक सय किलो वितरण गर्दै आएको उक्त चुन अहिले वर्षेनी २३ सय किलोसम्म वितरण गर्ने गरेको छ ।
पाँच वर्षमा अत्याधिक माग बढेको उक्त चुन नगरपालिकाले ७५ प्र्रतिशत अनुदानमा किसानहरुलाई वितरण गर्दै आएको छ । चुनको प्रयोग बढाएसँगै थाहा नगरपालिकाको माटोको उर्वर क्षमता बढेर काउलीको उत्पादन पनि बढेको उनले जानकारी दिए ।
उनको अनुसार नगरपालिकाले कृषकलाई गतवर्षदेखी व्यावसायिकरणतर्फ उन्मुख गरेको छ । उत्तरी मकवानपुरका किसानहरुलाई व्यावसायिक बनाउन नगरपालिकाले टनेल समेत निर्माण गरिदिएको छ । तिवारीले ५१ जनालाई ५०० वर्गमिटरको बाँसको टनेल बनाएर ५० प्रतिशत अनुदानमा वितरण गरेको बताए ।
त्यस्तैगरि चालू आर्थिक वर्षमा पनि नगरपालिकाले ५० जनालाई ५०० वर्गमिटरको र ३० जनालाई एक हजार वर्गमिटरको टनेल निर्माण गरेर वितरण गरेको छ । मन्डि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत १२÷१२ लाख रुपैयाँमा तीनवटा आलूको पकेट क्षेत्र समेत बनाएको तिवारीले जानकारी दिए ।
पकेट क्षेत्रमा बीउ,मिनिलिटर,विषादीको सामाग्रीको साथै विषादी छर्ने उपकरण पनि वितरण गरेको छ । नगरपालिकाले पिविएस आलू बीउ उत्पादन कार्यक्रमअन्तर्गत १० हजार दाना आलू वितरण गरेको छ ।
नगरपालिकाले वितरण गरेको १० हजार आलूको दानाबाट ४ क्विन्टल ६ किलो आलू उत्पादन भएको कृषि शाखा प्रमुख तिवारीले बताए । उनले चालू आर्थिक वर्षमा पनि ३ हेक्टर क्षेत्रफलमा आलू उत्पादन कार्यक्रमको लागि नगरपालिकाले दुई लाख रुपैयाँ खर्चिएको बताए ।
थाहा नगरपालिकाको मेयर लवशेर विष्टले पछिल्लो पाँच वर्षमा नगरपालिकालाई व्यावसायिक कृषिमा रुपान्तरण गर्न आफूहरुले धेरै काम गरेको बताए । उनले थाहा नगरमा तरकारी उत्पादनलाई बढाईसकेपछि त्यसको व्यवस्थापनको लागि आवश्यक पर्ने चिस्यान केन्द्र समेत नगरपालिकाले निर्माण गरेको बताए । ‘हामिले थाहा नगरको तरकारी उत्पादनलाई बढायौ । तर उत्पादन बढेपछि यसको व्यवस्थापनको लागि चिस्यान केन्द्र पनि आवश्यक पर्ने भएपछि हामिले त्यो निर्माण गरिरहेका छौ’,उनले भने ।
विष्टको अनुसार चिस्यान केन्द्र निर्माणको अन्तिम चरणमा रहेको छ । नगरपालिकाले दुईहजार तीनसय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको उनको भनाई छ । मेयर विष्टले अहिले धेरै क्षमताको एउटा मात्रै चिस्यान केन्द्र निर्माण गरिएको भएपनि तरकारी उत्पादनको पकेट क्षेत्रहरुमा सामा चिस्यान केन्द्रहरु निर्माण गरिनुपर्ने बताए ।
उनले आवश्यकताको आधारमा पकेट क्षेत्रहरुमा साना चिस्यान केन्द्रहरु निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । मेयर विष्टले पाँच वर्षमा आफ्नो नेतृत्वमा कृषिमा धेरै काम भएको भएपनि पछिल्लो समय थाहा नगरमा सिँचाईको अभाव भएको बताए । उनले खोलाहरु सुक्दै गएको हुनाले किसानहरुलाई उत्पादन गर्ने सिँचाईको अभाव भएको उनको भनाई छ ।
उनले डिप बोरिङबाट सामुहिक रुपमा खेती गर्ने प्रवन्ध मिलाउन आवश्यक रहेको पनि औल्याए । विष्टले नगरपालिकामा अझै केहि मात्रामा बाँझो जमिनहरु रहेको भन्दै ती जमिनको परिक्षण गरेर बाली लगाउनुपर्नेमा समेत जोड दिए । उनले कोरोनाको कारण आफूलाई सो काम गर्न नपाएको भन्दै बाँझो जमिनको प्रकृतिअनुसार बाली लगाएर उत्पादनको वृद्वि गर्नुपर्ने जिकिर गरे ।
सम्पादकः शिर्षक परिवर्तन गरिएको छ ।*