मकवानपुरगढीमा कांग्रेसबाट स्याङतानको उम्मेदवारी
हेटौंडा– आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट दोर्जे लामा स्याङ्तानले उम्मेदवारी दिएका छन् ।
सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीमा पुगेर स्याङ्तानले मनोनयन दर्ता गराएका हुन् ।
स्याङ्तान २०७४ को निर्वाचनमासमेत कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए । उनले एमालेका बिदुर हुमागाईंसँग हार व्यहोरेका थिए । यसवर्षपनि फेरि हुमागाईं र स्याङ्तानको अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ ।
मनोनयन दर्ता गराएपछि सोधिखोजीसँग कुरा गर्दै स्याङ्तानले गाउँमा गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र भ्रष्टाचार मुक्त समाज निर्माणको लागि आफूले उम्मेदवारी दिएको बताए । स्याङ्तान २०४८ सालबाट नेपाल शिक्षक संघको सदस्य हुँदै कांग्रेसको राजनीतिमा होमिएका थिए ।
उनले गत निर्वाचनमा शिक्षक पदबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षमा निर्वाचन लडेका थिए । उनले यसवर्ष पार्टीभित्रै ३ जना आकांक्षीबाट टिकट फुत्काएर ल्याएका हुन् ।