मकवानपुरको सबै पालिकामा खोलियो निर्वाचन अधिकृतको कार्यालय

संवाददाता
बैशाख १०, २०७९

हेटौंडा– आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।मकवानपुरका सबै पालिका सहित बिहीवार देशभर एकैपटक कार्यालय स्थापना गरेको छ ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा हेटौंडा उपमहानगरपालिकामा कार्यालय स्थापना गरिएको छ ।

साथै, अन्य पालिकाहरुमा तोकिएका निर्वाचन अधिकृत, स्थानीय जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । मकवानपुरगढी गाउँपालिकाको मक्राञ्चुलीस्थित ३ नम्बर वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो ।

मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेकी थिइन् । मकवानपुरगढीमा निर्वाचन अधिकृतको रुपमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव नारन प्रसाद पोखरेल खटिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीमा पोखरेलको मातहतमा ९ जना कर्मचारी रहने छन् । सहायक निर्वाचन अधिकृतको रुपमा मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, लेखापाल, कम्प्युटर अप्रेटर, कार्यालय सहयोगी र चालक रहने जनाइएको छ । मकवानपुरमा दुई लाख ९४ हजार ९ सय १९ जना मतदाता छन् ।

निर्वाचन आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर अन्तिम नामावली अनुसार मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्न पाउने भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । एक लाख ४९ हजार ९ सय ५४ जना पुरुष मतदाता र एक लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा एक लाख ४ हजार ४ सय ७३ जना छन् । सबैभन्दा कम मतदाता इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना मतदाता छन् ।

थाहा नगरपालिकामा ३२ हजार ३ सय ७, बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३, बागमती गाउँपालिकामा २२ हजार ४०, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना मतदाता छन् ।

यसैगरी, मनहरी गाउँपालिकामा २६ हजार ७ सय २१ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८, राक्सिराङमा १५ हजार ८ सय ३२, कैलाश गाउँपालिकामा १४ हजार ५ सय ८६ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरमा गत निर्वाचनभन्दा ६७ हजार १ सय ५८ जना मतदाता बढेका छन् । गत स्थानीय तह निर्वाचनमा मकवानपुरको मतदाता संख्या दुई लाख २७ हजार ७ सय ५९ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*