मुख्यमन्त्री पाण्डेद्वारा द्रुतमार्गको स्थलगत निरीक्षण

संवाददाता
चैत्र २४, २०७८

हेटौंडा– संघीय सरकारको गौरवको योजना काठमाडौं–तराई–मधेश द्रुतमार्गको वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गरेका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि मुख्यमन्त्री पाण्डेले आयोजनाको कामको अनुगमन गरेका हुन् । अनुगमनमा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालको पनि सहभागिता रहेको थियो ।

द्रुतमार्ग अन्तर्गत लेनडाँडा क्षेत्रमा सुरुङ्ग निर्माणको तयारी तथा पुल निर्माणको तयारीबारे निरीक्षण गरेका थिए । कामको गति सन्तोषजनक भइरहेको प्रतिक्रिया दिनुहुँदै आयोजना अन्तर्गत अन्य क्षेत्रमा कामको गतिमा तीव्रता प्रदान गर्न तोकिएको समय सीमा भित्र आयोजना सम्पन्न गर्ने गरी काम गर्न मुख्यमन्त्री पाण्डेले निर्देशन दिए ।

नेपाली सेनाको २८ नम्बर बाहिनीपति सहायक रथी हिम्मत विष्ट र नेपाली सेना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग आयोजनाको लेनडाँडा क्याम्पका प्रमुख मेजर राम सागर यादवले मुख्यमन्त्री पाण्डेलाई योजनाको समग्र कार्यप्रगतिको अवस्था बारेमा जानकारी गराएका थिए ।

सुरुङ्गमार्गको निर्माण पश्चात ७२ दशमलव ५ किलोमिटर लम्बाई रहने द्रुतमार्गको कामलाई समयमा नै सम्पन्न गरेर विकासमा नयाँ फड्को मारेको आभाष प्रदेशबासीलाई दिलाउन मुख्यमन्त्री पाण्डेले निर्देशन दिए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले आयोजना अन्तर्गत धेद्रे क्षेत्रमा निर्माणधानीन सुरुङ्ग गुणस्तर मापन प्रयोगशाला, रुख कटान गरिएका क्षेत्र लगायतको स्थलगत अवलोकन तथा फिल्डमा खटिएका प्राविधिक तथा मजदुरहरुसँग अन्तरक्रिया गरेका थिए ।

प्रस्तावित निजगढ विमानस्थल र द्रुतमार्ग एक आपसमा परिपूरक आयोजना भएकोले वाग्मती प्रदेश र मधेश प्रदेशबीचको सम्बन्धको सेतुको रुपमा अघि बढाउँदै यी दुबै आयोजनालाई नेपालको गेम चेञ्जर आयोजनाको रुपमा सम्पन्न गर्न आवश्यक रहेको कुरामा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

आयोजना सम्पन्न गर्ने क्रममा आउने अवरोधहरुलाई समयमा नै निराकरण गर्न र सहजीकरण गर्न बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको पनि मुख्यमन्त्रीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*