बागमती प्रदेशमा १२ लाख, मकवानपुरमा एक लाखलाई टाइफाइडबिरुद्धको खोप
हेटौंडा– बागमती प्रदेशमा १५ महिना देखि १५ वर्ष सम्मका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् ।
चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत् वाग्मती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले पत्रकार सम्मेलन गरी खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको जानकारी दिएको छ । निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार वाग्मती प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ ।
खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन् । खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढी स्वयम्सेवक परिचालन हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।
८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको निर्देशनालयका खोप फोकल पर्सन पदम कैनीले जानकारी दिए । खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।
खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न समुदाय तहमा छलफल, जनप्रतिनिधिहरुमार्फत जानकारी, विद्यालयहरुमा तथ्यांक संकलन लगायतका काम गरिएको र खोप संचालन गर्ने स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण जस्ता काम सम्पन्न भएकाले सबैको सहयोगमा खोप अभियान प्रभावकारी ढंगले सम्पन्न हुने निर्देशनालयका चिकित्सा एवं रोग नियन्त्रण शाखाका प्रमुख नरेन्द्र झाको भनाई छ ।
मकवानपुरमा एक लाखलाई खोप
यसैगरी स्वास्थ्य कार्यालय मकवानपुरले पनि आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै खोप कार्यक्रमलाई प्रभावकारी बनाउने जानकारी दिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले यो कार्यक्रमबाट कोही पनि बालबालिकालाई खोप लगाउन छुटाउन नहुने बताए ।
मकवानपुरमा भोलि चैत्र २५ गते शुक्रबार देखी दुई चरणमा टाईफाईड बिरुद्धको खोप अभियान सुरु हुने भएको छ ।
जिल्ला खोप समन्वय समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खोप फोकल पर्सन बाशुदेब रिमालले मकवानपुरमा ९ पालिकामा चैत्र २५ देखी बैसाख ६ गते र बकैया गाँउपालिकामा बैसाख ५ गते देखी ९ गते सम्म खोप अभियान सुरुवात गर्ने बताएका छन् ।
रिमालका अनुसार मकवानपुरमा ६ सय ८ खोप केन्द्र, ८ सय ७० कोप कार्यकर्ता, १ हजार ३ सय ९० जना स्वयमसेक परिचालन भएको बताईएको छ ।
साथै जिल्लामा भएको ४ लाख ६१ हजार ५३ जनसंख्या मध्ये पालिकास्तरबाट प्राप्त १ लाख २६ हजार ५ सय ६६ लक्षित जनसंख्या रहेको बताईएको छ । यस मध्ये १ लाख ८ हजार ४ सय ८६ जना बालबालिकामा खोप लगाउने तयारी भैरहेको बताईएको छ ।