राप्रपा मकवानपुर कमल थापाको पार्टीमा समाहित
हेटौंडा– राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा मकवानपुरका अध्यक्ष, उपाध्यक्षसहित बहुमत जिल्ला सदस्यहरु कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालमा समाहित भएका छन् ।
पार्टीका जिल्ला अध्यक्ष गुरु सापकोटासहित उपाध्यक्षलगायतकाअन्य पदाधिकारी र ४३ सदस्यीय जिल्ला कमिटीमध्ये २२ जना सदस्य, पार्टी निर्वाचन क्षेत्र कमिटीका अध्यक्ष, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र गाउँपालिकाहरुका सबै अध्यक्षसहितको कार्यसमिति राप्रपा नेपालमा समाहित भएका हुन् ।
आज मंगलबार साँझ विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष सापकोटाले पार्टीभित्र पछिल्लो समय सैद्धान्तिक विचलन आएको, पार्टीमा बढ्दै गएको पुर्वाग्रही सोच, चिन्तन र संकिर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।
युवकदेखि महिला संगठनका जनवर्गीय संगठन अध्यक्षहरु र प्रजातान्त्रिक महिला संगठनका अधिकांश जिल्ला सदस्यहरुले राप्रपा छोडेका छन् । कमल थापाले गत १९ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि पुरानै पार्टी ब्यूँताएका थिए ।